शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रकाश मानव अधिकार पुरस्कार २०७६ बाजुराका डाक्टर विश्वकर्मालाई

दैनिक नेपाल २०७७ साउन १६ गते १५:०३

काठमाडौँ, १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसका अवसरमा २६ औँ “प्रकाश मानव अधिकार पुरस्कार–२०७६” बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिने भएको छ ।

साउन १६ गते इन्सेकले काठमाडौँमा आयोजना गरेको २८ औँ प्रकाश स्मृति दिवस तथा २६ ओँ प्रकाश मानव अधिकार पुरस्कार घोषणा सहारोहमा सो जानकारी गराइएको हो ।

कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार र राजनीतिक विज्ञ सुशील प्याकुरेलले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पुर्याएको योगदानका लागि यसअघि २५ जनालाई प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण यो वर्ष पहिलोपटक पुरस्कृत व्यक्तिको उपस्थितिबिना कार्यक्रम गर्नु परेको बताए ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्माकारले इन्सेकका सात प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई पुरस्कार छनोट समितले पुरस्कृत व्यक्तित्व छनोट गरिएको बताए ।

‘बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित रुपचन्द्र विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।’ महासचिव चर्माकारले भने ।

कोरोना सङ्क्रमणको महामारीका कारण यो वर्ष साउन १६ गते पुरस्कार प्रदान गर्न नसकिएको बताउँदै अवस्था सामान्य भएपछि पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए ।

इन्सेकका संस्थापक सदस्य डा. बद्रिप्रसाद खतिवडाले नेपालको मानव अधिकारको विकासका लागि स्वर्गीय प्रकाश काफ्लेको निकै ठूलो योगदान रहेको बताए ।

मानव अधिकारकर्मी गणेश बिकले पुरस्कृत व्यक्तित्वले समाजमा योगदान पु¥याएको र उक्त कामलाई इन्सेकले चिनेको बताए ।

प्रतिक्रिया
सम्बन्धित