शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

१५ किलो सुन प्रकरणका अभियुक्त भन्छन्– ‘प्रहरीलाई झोला दिएर हामी ट्याक्सी चढेर भाग्यौं’

दैनिक नेपाल २०७७ साउन १५ गते १३:३७

काठमाडौं, १५ साउन । मंगलबार काठमाडौंको कमलादीमा बरामद गरेको भनिएको १५ किलो सुनको झोला फालेर भाग्ने तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

देवान पटेल, विजय पटेल र निलेश सखियालाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेका मध्ये निलेश सखियाले सुनको झोला फालेर नभइ प्रहरीलाई हातैमा बुझाएर आफूहरु भागेको बयान दिएका छन् ।

उनले प्रहरीले थापेको चेकप्वाइन्ट नजिकै गाडीबाट ओर्लेर सुनको झोला प्रहरीलाई थमाएर आफूहरु ट्याक्सी चढेर भागेको बताएका छन् । तर, प्रहरीले भने तीव्र गतिमा आएको स्कर्पियोलाई चेकप्वाइन्टमा रोक्न खोज्दा नरोकिकन एउटा सेतो झोला फालेर भागेको दाबी गर्दै आएको छ ।

प्रहरीले पिछा गरेको पत्तो पाएपछि उनीहरुले प्रहरीलाई सुन र चाँदीको झोला बुझाएर भागेको बयान सखियाले दिएका छन् ।

सुनको झोला प्रहरीलाई बुझाएपछि उनीहरु ट्याक्सी चढेर भैरहवा गएको सखियाको भनाइ छ ।

शुरुमा १५ किलो सुन बरामद भएको प्रहरीले पत्रकार सम्मेलनका बेला झोलाभित्र आधा किलो सक्कली सुन, १४ किलो नक्कली (सुनको लेपन लगाइएको चाँदी) र दुई थान पेस्तोल रहेको बताएको थियो ।

सुन बोकेको स्कर्पियो गाडीको नम्बर प्लेट नक्कली भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित