बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

युवामा सामाजिक भावनाको जागृत हुँदै

नवेश गुरुङ २०७७ साउन १४ गते २२:२१


-नवेश गुरुङ

झापा, १४ साउन । सन् १९९० को महाभूकम्प पछिको २०७२ बैशाख १२ को भूकम्प बढी शक्तिशाली देखियो ।

भूकम्पमा परी कैयौँ मानिसको ज्यान गयो । कैयौँले आफन्त गुमाए । कैयौँको घर भूकम्पले लडायो । कैयौँ मानिस खुला अकाशमुनि रहन बाध्य भए ।

देशका राजधानी काठमाडौँका अधिकांश ऐतिहासिक धरोहर लडेर ध्वस्त भए । राजधानीको केन्द्रमै रहेको राणाकालीन नौ तले धरहरा भूकम्पले सकेन्डमै ध्वस्त बनाइदियो ।

भूकम्पले देशका मध्यपश्चिम भू–भागमा बढी क्षति पुरयायो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियोे भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

७.८ रेकटर स्केलको भूकम्पले २ हजार ६ सय ७३ सरकारी भवनहरुमा पूर्ण रुपमा क्षति पुरायो भने ३ हजार ७ सय ५७ वटा सरकारी भवनहरुमा अंशिक क्षति पुर्याएको थियो ।

देशका सर्वसाधारण जनताका अधिकांश घर भत्किए । तथ्यांक अनुसार ६ लाख २ हजार २ सय ५७ वटा घर पुन रुपमा क्षति भए भने २ लाख ८५ हजार ९९ वटा घरमा अंशिक रुपमा क्षति भएको थियो ।

त्यस्तै, २०७४ मा पूर्व क्षेत्रको कोशी नदीको पानीले त्यस भेगका बस्तीमा गएको बाढीका कारण डुबानमा परयो । कैयौँ परिवार विस्थापित भए, पीडित सर्वसाधारण बाढीले डुवानमा परेका बस्ती पर रहेका खुला चौर, विद्यालय भएका स्थानमा रहन बाध्य भए । देशमा विपद्का बेला सरकारलाई सहयोग पुर्याउनु हरेक नागरिकको पनि दायित्व रहन्छ ।

यस्तो बेला देशमा रहेका सहयोगी मन भएका मनकारी व्यतिहरु, विभिन्न सहयोगी समूह, संघसंस्थाहरुले स्फुत रुपमा स्वयमसेवीको भूमिका खेलेको थियो ।

विपद्का बेला स्वयम्सेवीहरुले रातदिन नभनि समस्यामा रहेका मानिसहरुको उद्धार गरेको थियो । त्यसमध्ये क्वीक भोल्यिनटर समूह पनि हुन् ।

भूकम्प पछिको पुनः निर्माणमा क्विक भोल्यिनटर

स्थानीय विपद व्यवस्थापनमा अगसर स्थानीय स्वयम्सेवी युवा समूह आज राष्ट्रिय विपद व्यवस्थापनका लागि अग्रपंक्तिमा सक्रिय रुपमा अघि बढिरहेको छ ।

करिब १८ वर्षअघि स्थानीय स्वयम्सेवी समूहबाट आरम्भ गरेको समूहले २०७२ को भूकम्प पछिको पुर्न निर्माणमा विपद व्यवस्थापनमा क्विक भोलेन्टियर बनेर महत्वपूर्ण भूमिका खेल्यो ।

सामाजिक सञ्जालमार्फत प्राकृतिक प्रकोपका बेला कसरी काम गर्न सकिन्छ भन्ने सोचका साथ अघि बढेको समूहले पुर्न निर्माणमा भूकम्प पीडितका लागि राहात, बाँसका लागि अस्थायी टहरा निर्माण गरी ६ महिनाको अवधिमा करिब ६०० घर निर्माण गरेको थियो ।

अलपत्र परेका सर्वसाधारणको उद्धार गरी घरघर फर्कन सहयोगी भूमिका

विश्व महामारीका रुपमा देखापरेको कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट देशैँभरि लकडाउनको सूचना गरेको थियो ।

सरकारले यस्तो अवस्थामा गत २०७६ चैत ११ देखि देश व्यापीरुपमा लकडाउन ग¥यो । देशका राजधानीदेखि जिल्ला–जिल्लाका सर्वसाधारणहरु लकडाउन अनिश्चित भएपछि आफ्नो गृहजिल्ला धमाधम फर्किन थाल्यो ।

निश्चित समय तोकिएको केही दिनमै पूर्णरुपमा यातायातका सवारीसाधन ठप्प भयो । राजधानीमा बाँकी रहेका सर्वसाधारण आफ्नो घर फर्किन पैदलै हिड्न बाध्य भए ।

कयौँ सर्वसाधारण पैदलै आफ्ना नाबालक परिवार लिएर बाटो लागे । यस्तो अवस्थामा सर्वसाधारणलाई उनीहरुको घरसम्म पुग्न समस्या थियो ।

उनीहरुको समस्यालाई सहजीकरण गर्दै विभिन्न सहयोगी हात–सहयोगी संस्थाहरुले यात्रामा खाना, पानीको व्यवस्था गरिदिए । पूर्वको झापादेखि पश्चिम नेपालको कर्णालीसम्मका अलपत्र परेका सर्वसाधारणलाई उद्धार गरी घरघर फर्कन सहयोगी बनेर आपतकालीन प्रतिकार्य केन्द्र समूहले महत्वपूर्ण भूमिका खेलेको छ ।

सामाजिक सञ्जालमार्फत सक्रियता

आपतकालिन प्रतिकार्य केन्द्रको अवधारणा विश्वभरि महामारीको रुपमा फैलिरहेको अवस्थामा अघि बढेको हो । केन्द्रल नेपालमा लकडाउन हुनु एक महिना अघिदेखि नै सामाजिक सञ्जालमार्फत स्वयम्सेवीहरुलाई आह्वान गरेको थियो । आह्वानसँगै सेवा गर्ने इच्छुक स्वयम्सेवीहरु अग्रसर देखिए ।

लकडाउन कढाईका साथ लागु भएको अवस्थामा सर्वसाधारणको समस्याहरु समूहले मध्यस्तरको भूमिका खेलेको थियो । देशैभरि सञ्जाल भएको समूहले हरेक स्थानीय तहमा सञ्जाल बनाई देखापरेका समस्याहरुलाई तत्कालै समाधानमा अग्रसर देखियो ।

सञ्जालले कुनै पनि गाउँ–ठाउँमा समस्या आउँदा तत्काल सामाजिक सञ्जाल मार्फत केन्द्रस्तरमै सूचना प्रवाह गर्ने गरेको छ । रगत अभावलाई तत्काल पुरयाउन समूहको सामाजिक सञ्जाल फेसबुकमार्फत च्याट ग्रुप जिल्ला प्रदेश र केन्द्रको ग्रुपबाट समाधान भइरहेको हुन्छ ।

राहत नपुगेको अवस्थामा स्थानीयस्तरबाट सहयोगी हात, सहयोगी संस्था, निकायहरुसँग समन्वय गरेर पिडितलाई तत्काल राहत बितरणमा केन्द्रले सहजीकरण गर्दै आएको छ । स्थानीय विपत व्यवस्थापनमा सक्रिय रुपमा मध्यस्तरको भूमिका निर्वाह गरिरहेको छ ।

क्वारेन्टाइनदेखि समुदायसम्म सक्रियता

देशमा लकडाउन सुरु भएदेखि नै देश तथा देश बाहिर रहेका सर्वसाधारणहरु स्वदेश फर्किने क्रम बढिरहेको थियो । यस्तोमा कोरोना भाइरस फैलिने डरले सरकारले देशैभरि क्वारेन्टाइनको व्यवस्था गरेको थियो ।

आपतकालीन प्रतिकार्य केन्द्रले प्राथमिकताका साथ विदेशबाट आएका व्यक्तिहरुको कन्ट्रेक्ट ट्रेसिङ गर्ने, क्वारेन्टाइनमा उनीहरुलाई राख्न सहयोग गर्ने उनीहरुको व्यवस्थापनमा सहयोग गर्ने देखि लिएर स्थानीयस्थरमा राहत नपाएको पीडितको पहिचान गर्ने र स्थानीय निकायहरुसँग समन्वय गरी राहत उपलब्ध गराउन अग्रसर देखिए ।

त्यस्तै, विभिन्न अस्पतालमा रगत अभावका कारण उपचार रोकिएका पीडितहरुलाई तत्काल रगत व्यवस्थापनमा समूहले महत्वपूर्ण भुमिका खेलेको छ ।

देश बाहिर रहेका सर्वसाधारणहरु स्वदेश फर्केर क्वारेन्टाइनमा रहँदा उनीहरुलाई सहयोगी संस्थासँग सहकार्य गरी सीम कार्ड वितरण, क्वारेन्टाइनमा रहेका महिलाहरुको स्वास्थलाई मध्यनजर गर्दै पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण लगाएतका कार्यमा सकिृय देखियो ।

सडकमै दिन गुजारिरहेका अशायहरुलाई उद्धार गरी परोपकारी केन्द्रसम्म पुर्याउन समेत समन्वय गरेको छ ।

समनवयकारी निकायको भूमिकामा आपतकालीन प्रतिकार्य केन्द्रको अवधारणा

सरकारले कोरना भाइरस संक्रमण फैलिने कारण गत चैत ११ गतेबाट देशमा लकडाउनमा कढाइ गरयो । आपतकालीन प्रतिकार्यमा केन्द्रीय संयोजक अरुण खड्काका अनुसार जतिबेला विभिन्न समस्याको समाधानमा प्रत्येक नागरिक सक्रिय रुपमा अगसर हुनुपरेको अवस्था थियो ।

लकडाउनको समयमा आ–आफ्नो ठाउँमा सेवा गर्नको लागि त्यही सेवाहरु जसजसले गरिरहेका छन्, जसमा अझ व्यापक रुपमा प्रभावकारी बनाउन सञ्जालमा सक्रिय बनेको समूहका केन्द्रीय संयोजक अरुण खड्का बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘विभिन्न खालका प्रकोपहरुमा वा सामुदायिक रुपमा आउने समस्यामा डेढ दशकभन्दा लामो अनुभवले के देखायो भने यहाँ समस्यामा परेका नागरिक र सहयोगी निकाय र व्यक्तिहरु बीचको सम्बन्ध समन्वय गर्नु चाहिँ सबैभन्दा चुनौती पूर्ण देखिएको छ ।’

उहाँका अनुसार सहयोगी हात, सहयोगी संस्थाहरु प्रशस्त छन् तर आवश्यकता भएका बेला सहयोग नपाउने देखिएकाले मध्यस्तरमा रहेर समन्वय गरिदिने निकाय नभएको महसुस गरेकाले आपतकालीन प्रतिकार्य केन्द्र इआरसीको अवधारणा जन्म भएको बताउनुहुन्छ ।

भूकम्प गएको अवस्थामा क्विक भोलेन्टियर समूह बनेर विपत व्यवस्थापनमा अग्रपंक्तिका रुपमा सहयोगी र पीडित बीच मध्यस्तरको समन्वयकर्ताको रुपमा सहजीकरण गर्दै आएको थियो ।

विपत व्यवस्थापनमा समूहको प्रभावकारी सहभागिता जनाएको समूह त्यसपछिको स्थानीय विपद् आगलागी, बाढी, पहिरो व्यवस्थापनमा आपतकालीन प्रतिकार्य केन्द्र क्रियशील रह्यो ।

स्वयम्सेवी बीच एकअर्कामा सहयोग आदनप्रदान

प्रत्येक जिल्ला र पालिकास्तरमा स्वयम्सेवकहरुले आफ्नो सुरक्षा, आफ्नो खर्च, यातायात आफैँले गर्नु परिरहेको छ । लकडाउनको एक महिना अघिदेखि शुरु भएको आवधारणा अन्तर्गत स्वयम्सेवकहरुले एकअर्का बीच सहयोग आदनप्रदान गरे । लकडाउनको सुरुदेखि नै कसरी विपत व्यवस्थापन गर्ने भनेर सञ्जाल मार्फत समाधानमा युवाहरु जोडिए ।

लकडाउन कढाईका साथ भइरहेको अवस्थामा घरमै रहेर सामाजिक सञ्जाल मार्फत अनुरोध पछि के गर्ने भन्ने निष्कर्षमा विपदका बेला देखिएका समस्याहरुको समाधानमा अग्रसर भएर लागेको समूहका संयोजक अरुण खड्का बताउनुहुन्छ ।

उहाँका अनुसार मुख्यतय विपद्मा समूहको सक्रियतालाई दिगोरुप दिन देशव्यापी रुपमा अग्रसर भएर युवाहरुलाई सामाजिक परिचालनका रुपमा क्रियशील रहन प्रेरित गरिएको थियो ।

सेवाको भावना जागिृत गर्नु नै मुख्य उद्वेश्य

युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराएर उनीहरुमा सेवाको भावना जागृत गर्नु नै समूहको मुख्य उद्देश्य छ । युवाहरुमा सामाजिक भावना जागृत बनाई समाजलाई चिन्ने, समाजलाई बुझ्ने अवसर पाएको हुनाले यो कार्य जीवनभर एउटा पढाइ हुनेछ ।

हिजोसम्म युवा वर्ग अध्ययनमै मात्र केन्द्रित हुने आज स्वयम्सेवक बनेर स्थानीय विपतमा सहयोग पुरयाइरहेको संयोजक खड्का बताउनुहुन्छ ।

आज युवाहरु हरेक समस्याको सामाधान एकअर्काले मिलेर गर्नको लागि सामाजिक कार्यमा अग्रसर भई केन्द्मा आबद्ध भइरहेका छन् । समूहमा अधिकांश युवाहरु जोडिए पनि केही पाका अग्रजहरु, महिला गृहिणीहरु पनि जोडिएका छन् ।

देशका ७७ जिल्लाका ४०० बढी स्थानीय तहमा करिब २५०० स्वयम्सेवी सञ्जाल मार्फत क्रियाशील छन् भने दिन प्रतिदिन स्वयम्सेवीहरु समूहमा जोडिरहेका छन् ।

स्थानीय निकायसँग समन्वयको खाँचो

स्थानीय निकायहरुले यो समूहलाई नितान्त स्वयमसेवी काम गरिरहेको हो भन्ने बुझिदिदा पिडितले असहयोग महसुस गरिरहेकोले समूह बिच स्थानीय निकाय सँग समनमयको खाँचो रहेको समूहका सदस्य विष्नु आर्चाय बताउनु हुन्छ ।

इआरसी समूह पालिका जिल्लामा सङ्गठित भई सेवामा अग्रसर हुने र मानिसको आवश्यकतालाई पूरा गर्ने एउटा देशव्यापी सञ्जाल हो । यी कारणले गर्दा यसको आवश्यकता दिर्घकालीन समयसम्म रहिरहने सदस्य आचार्यको भनाइ छ ।

यो कोरोना भाइरस कोरोना मात्र होइन, कि हरेक खालका भोलिका संकटमा जुन सामान्य जीवनमा कुनै व्यक्तिगत रुपमा आउने समस्याहरुलाई पनि सहयोगी भूमिकाको सञ्जालका रुपमा रहने भएकाले दिर्घकालीन रुपमा भावि दिनमा सक्रिय रहने समूहका सदस्य दिपक दास बताउनुहुन्छ ।

उहाँका अनुसार देशमा भावी दिनमा एउटा सफल उद्धारणिय संरचनाको रुपमा रहिरहने छ । आपतकालीन केन्द्र देशव्यापी रुपमा मात्रै नभएर देश बाहिर बाङ्गलादेश, भारतमा पनि सुरु भइसकेकोे छ । यो देखेर देश बाहिर अरु देशहरुले पनि चासो लिइरहेका छन् ।

रगत अभाव पूर्ति गर्दै समूह

देशमा लकडाउन सुरु भएदेखि नै समूहले सामाजिक सञ्जाल मार्फत विभिन्न अस्पतालमा रगत अभाव भएको अवस्थामा तत्काल अभाव पूर्ति गर्दै आएको छ ।

समूहले आफ्नो सामाजिक सञ्जाल मार्फत बिरामीहरुलाई रगत अभाव हुन नदिन मध्यस्तर गर्दै स्वयम्सेवीहरुलाई क्रियाशील गर्दै समूहकै पहलमा रगत पुुर्याउँदै आएको इआरसीका सदस्य अनुप प्रसाई बताउनुहुन्छ ।

जिल्लामा रहेका ब्लड बैंकमा रगत अभावका बेला होस् वा कुनै जटिल रोगका विरामीका लागि ताजा रगत अभाव जुनसुकै अवस्थामा समूहका स्वयम्सेवी अहोरत्र खटिरएका छन् ।

रगत अभावलाई पूर्ति सफल गर्दाको क्षण सम्झँदै बिरामीको आफन्तले गर्ने व्यवहार पाउँदा आफूहरुलाई आत्मसन्तुष्टि प्राप्त हुने सदस्य अनुप प्रसाईंको भनाइ छ ।

उहाँ भन्नुहुन्छ– पछिल्लो समय देशमा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै समय पुगेका स्वस्थ व्यतिm जो कोहीले रगत दान गरेर रगत अभावलाई पूर्ति गर्न सहयोग पुर्याउन सबै आग्रह छ ।

रगत अभाव पूर्ति गर्न झापा इआरसी देशकै उत्कृष्ट

सामाजिक सञ्जाल मार्फत राहात होस वा औषधि अभाव वा रगत अभाव समयमै पीडितको समस्यालाई समाधान गर्दै समूह सहजीकरणको भूमिका खेल्र्दै आइरहेको छ ।

काठमाडौँको हाम्रो लाइफ बैंक स्मार्ट ब्लड संस्थाले देशै भरिबाट सर्वेक्षण गर्दै झापा इआरसीलाई विभिन्न अस्पतालमा रगत अभावलाई समयमै पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गर्दै उत्कृष्ट भएको जनाएको छ ।

फेमिलि चेन के हो ?

घरपरिवार, नजिकका आफन्त, सहकर्मी र साथि बीचको कोरोनाविरुद्ध लड्न नियमित सामूहिक सम्वादको सुरुवात वा अझ प्रभावकारी बनाउने अभियान हो ।

फेमिलि चेन किन र कसरी ?

हुन त प्रायः नजिकका आफन्तसँग नियमित सम्पर्कमा रहिन्छ । तर पनि अहिलेको अवस्थामा सबै नजिकका आफ्नाहरु कहाँ छन्, कुन अवस्थामा छन्, कही समस्या छ कि, कोरोना भइरसको बारेमा सही र र्पूण जानकारी पाएका छन् छैनन्, भ्रम र त्रासमा छन् कि, समस्यामा पर्दा कहाँ कसरी सम्पर्क गर्ने जानकारी थाहा छ कि छैन, कसरी सहयोग गर्न सकिएला जस्ता विषयमा आफन्तसँग नियमित र र्पूण जानकारीका साथ सम्पर्कमा रहदाँ आफन्त र समाजलाई नै सुरक्षित बनाउन सहयोग गर्ने छ । यसको लागि सकेसम्म एउटै सञ्जालमा सामेल गरेर सम्वाद गर्दा सबैलाई एक अर्कामा मद्दत हुने छ ।

फेसबुक, वाट्सएप लगाएतका कुनै पनि सोसियल प्लेटर्फममा फेमिलि चेन नामको सम्वाद समूह बनाउने । नामले नै सबै सदस्यमामा किन भन्ने प्रश्नबाट सम्वाद सुरु हुने, सम्वादमा अलि फरकपन आउने र कोरोनाको विषयमा र्पूण र नियमित सम्वाद गर्न सहज बनाउने समूहका सदस्य सञ्जय थारूले बताउनुहुन्छ ।

मनोवैज्ञानिक परामर्शको आवश्यक

प्रदेश नं. १ का मनोविमर्शकर्ता मञ्जिता उपाध्यायका अनुसार लकडाउन सुरु भएदेखि नै सामाजिक सञ्जालमार्फत् सचेतना कार्यक्रम, मनोपरामर्श गर्दै समूहले सर्वसाधारणलाई सूसचित गराउँदै आएको बताउनुभयो ।

पछिल्लो समय देशमा लकडाउन खुले पनि संक्रमण फैलिन सक्ने हुँदा सबैले सामाजिक दूरी राखी स्वास्थ सुरक्षामा विशेष सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुको सुझाव छ । राज्यले मनोवैज्ञानिक परामर्सको कुरालाई प्राथमिकता दिएको छैन ।

सरकारले स्थानीय तह देखिने स्वास्थ्य चौकीहरुमा मनोचिकित्सक परामर्शकर्ताको रुपमा राख्नुपर्ने र मनोचिकित्सकको दरबन्दी बढाई प्रत्येक स्वास्थ्य चौकीमा परिचालन गर्नुपर्ने आम समस्या निराकरणको आवश्यकता देखिएको मनोविमसकर्ता उपाध्यायको भनाइ छ ।

सरकारले देशमा गत चैत ११ गतेबाट सुरु गरेको लकडाउन साउन ७ गतेदेखि खकुलो बनाएको छ भने त्यसयता संक्रमितको संख्या बढ्दै गएको छ ।

जसकारण सरकारले देशका सबै जिल्ला प्रशासनलाई सामाजिक दूरी कायम राख्नुका साथै घर बाहिर निस्कँदा माक्स अनिवार्य लगाउनमा कडाई गर्न निर्देशन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित