बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

पीसीआर परीक्षण गर्न शिक्षक महासंघको माग

दैनिक नेपाल २०७७ साउन १४ गते २१:४५

कपिलवस्तु, १४ साउन । शिवराज नगरक्षेत्रका विभिन्न पेशागत शिक्षक संघ संगठनले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको पीसीआर परीक्षण गरिनुपर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल शिक्षक महासंघ शिवराज नगर कार्यसमिति संयोजक मुक्तिनाथ पोख्रेल नेतृत्वको टोलीले नगरप्रमुख नेत्रराज अधिकारीलाई मागपत्र बुझाएका हुन् ।

नगरभित्रका विभिन्न पेशागत शिक्षक संघ संगठनहरुको बैठकले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको शिक्षक महासंघ नगरसंयोजक मुक्तिनाथ पोख्रेलले जानकारी दिए ।

बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनका नगरअध्यक्ष गिरीप्रसाद गैरे, एकीकृत शिक्षक संगठनका नगरअध्यक्ष चिरन्जीवि घिमिरे, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव यादव चन्द र नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष बलदेव लामिछानेको सहभागिता थियो ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव समुदायमा परेको साथै नगरभित्रका शिक्षक तथा कर्मचारीहरु बैकल्पिक सिकाइ सहजीकरणका लागि समुदायमा गइरहेका र केही शिक्षकहरुमा पोजेटिभ देखिएका कारण नगरक्षेत्रका शिक्षक, कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

ज्ञापन पत्र लिंदै नगरप्रमुख नेत्रराज अधिकारीले शिक्षकहरुको मागलाई प्राथमिकता आधारमा सम्बोधन गरिने आश्वासन दिए । साथै नगरप्रमुख अधिकारीले विद्यालय प्रशासनले समेत पठन पाठनको समयमा विशेष सुरक्षा संयन्त्र अपाउनुपर्ने सुझाव दिए ।

शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले सबैलाई भन्दा पनि कोरोना पोजेटिभ देखिएका शिक्षकहरु कार्यरत विद्यालय तथा सम्पर्कमा रहेकालाई पहिलो प्राथमिकता दिइने बताए ।

प्रतिक्रिया
सम्बन्धित