शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सोती घटनाका पीडित परिवारलाई राष्ट्रिय कलाकार संघद्वारा ५ लाख हस्तान्तरण

दैनिक नेपाल २०७७ साउन १४ गते २१:०९

काठमाडौ, १४ साउन । रुकुमपश्चिमको सोती घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम मृत्तकका प्रत्येक परिवारलाई पचास हजारका दरले रु तीन लाख, प्रत्येक घाईतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार, कानूनी प्रक्रियाका लागि ८० हजार गरि जम्मा पाँच लाख रकम नगरपालिकाका मेयर घर्तीमार्फत पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले सोती घटनाका छ जना मृतक र १२ जना घाइतेका परिवारको सहयोगमा प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रुकुममा घटेको उक्त घटनाले आफु स्तब्ध भएको बताउँदै दलित शब्द शब्दकोषबाट हटाउनुपर्नेमा जोड दिए ।

श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा आएर पनि १६ औं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाए सम्म मानिसहरुको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’ घटनालाई अप्रीय र अकल्पनीय भएको भन्दै त्यसप्रति खेद व्यक्त गरे ।

रुकुममा नरसंहार घटना हुनुुमा अशिक्षा सबैभन्दा ठुलो कारण भएको उनको तर्क थियो । पीडीत परिवारमा भुकम्प, बाढी/पहिरो एकैपटक आएकोमा दुःख व्यक्त गरे । उनले जताततै न्याय हराएपछि राज्यको चौथो अंग पत्रकारितामात्र न्यायको आशा गरिने स्थान भएको समेत आंैल्याए ।

कार्यक्रममा पूर्वमन्त्री जितु गौतमले सोती घटनाका दोषीलाई उन्मुक्ति दिने गरी अदालतले फैसला गरेको भन्दै आपत्ती जनाए । उनले न्यायालय शंकाको घेरामा रहेको तर्क गरे । कलाकार संघले गरेको सहयोग हस्तातरण कार्य अति नै विवेकशील भएको उनको भनाई छ ।

उनले भने, ‘नवराजकी प्रेमिकाको आमालाई एक लाख धरौटीमा छाड्दा न्यायालयमाथी आपत्ती मैले जनाउँदा न्यायालयमा प्रश्न गर्न नहुने तर्क दिएका साथीहरुले चोलेन्द्र शमसेरले सर्वस्वसहित जन्मकैद तोकेका रञ्जन कोइरालालाई जेलमुक्त गरिदिंदा अहिले सर्वत्र आलोचना गरिहेका छन् । न्यायालय पनि शंकाको घेरामा रहेको छ ।’

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । संविधान र कानुनमा भएका जातिय अधिकारको विषयहरु हुबहु लागु गरेर विभेद अन्त गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘जातीयताको नभई क्षमताको आधारमा समाज अगाडि बढ्नुपर्छ’ ।

घर्तीले वास्तविक पिडकको पहिचान गरी कारबाही अगाडि बढेको समेत जानकारी दिए । नगरपालिका र आफूले सुरुदेखि नै पीडितहरुलाई न्याय र पीडकहरुलाई कारबाही गर्नेगरि भूमिका निर्वाह गरेको घर्तीले विश्वास दिलाए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशबाट जातीय विभेद अन्त्य गर्नुपर्ने बताए । उनले देशमा विभेदको कुनै अंश बाँकी रहन नहुने र त्यसका लागि आफूले सधै आवाज उठाइरहने बताए ।

धमलाले भने,‘देशमा जातीय विभेद अन्त हुनैपर्छ, त्यसका लागि सबैले आफ्नो स्थानबाट भुमिका निभाउनुपर्छ ।’ उनले दोषीले उन्मुक्ति पाउन नहुने र कडाभन्दा कडा कारबाही गर्नुपर्ने र पीडितले न्याय पाउनैपर्ने आवाज उठाए ।

कार्यक्रममा पत्रकार महासंघका सचिव रेम बहादुर विश्वकर्माले दलित समुदायलाई मात्र नभएर अन्य पछाडी परेका र अन्यायमा परेका सबैलाई राष्ट्रिय कलाकार संघले सहयोग गर्नुपर्ने बताए । उनले समाजका आवश्यकत्ताअनुसार कलाकार संघ चल्न पनि सुझाव दिए ।

रकम हस्तान्तरण कार्यक्रममा अमृत खातीले स्वागत भाषण गरेका थिए । कार्यक्रममा दोस्रो चरणको सहयोग कार्यक्रम अन्र्तगत पीडितको घर निर्माण वा पुर्नस्थापना र शालिक वा पार्क निर्माण गर्न पहल गर्ने पूर्वमन्त्री जितु नेपालले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा गायक तथा राष्ट्रिय कलाकार समुहका अध्यक्ष गायक यशकुमारले रकम संकलनमा सहयोग गर्नुहुने अमेरिका, अष्ट्रेलिया, युके र अन्य स्थानमा रहेको सबैलाई धन्यवाद दिएका थिए ।

सहयोग संकलन अभियानका संयोजकसमेत रहेका एस कुमारले सोती घटनालाई दुःखद भने । उनले यो सहयोग ठुलो नभएपनि मनदेखि विभेदविरुद्ध ऐक्यवद्धता भएको बताए । पीडितहरुको घाउमा मलम लगाउन यसले मद्दत गर्ने आशा व्यक्त गरे । कार्यक्रमको उद्घोेषण कृष्ण गजमेरले गरेका थिए ।

रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान राष्ट्रिय कलाकार समूहले जनाएअनुसार उक्त सहयोग रकम अमेरिकाबाट दुई लाख ८९ हजार पाँच सय, अष्ट्रेलियाबाट ८६ हजार चार सय, बेलायतबाट पन्ध्र हजार, गो फण्ड मि बाट ६३ हजार पाँच सय, क्यानडाबाट पचास हजार, उषाबाट १० हजार र राजु परियारबाट पाँच हजार प्राप्त भएको हो । र, अभियानको कार्यक्रमको व्यवस्थापनमा भने २१ हजार दुई सय खर्च भएको पनि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित