शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एकाएक बामदेवलाई निवासमै भेट्न किन पुगे ओली ?

दैनिक नेपाल २०७७ साउन १३ गते २२:०२

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेवलाई भेट्न प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली मंगलबार साँझ गौतम निवास भैंसेपाटी पुगेका छन् ।

पछिल्लो समय नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष गौतमलाई भेट्न जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि मंगलबार नै गौतमले पार्टीभित्रको विवाद समाधान गर्दै पार्टी एकीकरणलाई बलियो बनाउन ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए । उनको त्यो प्रस्तावलाई आधार बनाएर गौतम ओली खेमामा प्रवेश गरेको अड्कलबाजी भइरहेकै बेलामा प्रधानमन्त्री ओली गौतमलाई भेट्न एकाएक उनकै निवासमा पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार बामदेव गौतमलाई ओलीले विश्वासमा लिन खोजिरहेको बताइएको छ । बामदेवलाई विश्वासमा लिँदा केपी ओली पार्टीभित्र थप मजबुत बन्ने आँकलन छ ।

गौतमले अगाडि सारेको प्रस्तावकै आधारमा मंगलबार बालुवाटारमा बसेको भनिएको बहुमत स्थायी कमिटी बैठकमा पनि उनले केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन उपयुक्त नभएको तर्क गरेका थिए ।

त्यस्तै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पूर्ण कार्यकारी अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।

उपाध्यक्ष गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा आगामी एकता महाधिवेशनसम्म केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री रहने, आगामी महाधिवेशनसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा पाउनु पर्ने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्नेलगायत प्रस्ताव उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित