शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन

दैनिक नेपाल २०७७ साउन १३ गते १६:०७

काठमाडौं, १३ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सार्वजनिक निकायले उपलब्ध गराउनुपर्ने सूचना वेबसाइट, इमेल, इन्टरनेटमार्फत उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

राष्ट्रिय सूचना आयोगबाट सम्पादित कार्यहरु र आगामी कार्ययोजनाका विषयमा मंगलबार भएको छलफलपछि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गरी प्रतिवेदनमाथि छलफल हुने नीतिगत व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

सरकारी तथा गैरसरकारी निकायहरुबाट सम्पादित कार्य ३/३ महीनामा प्रकाशन गर्ने, गराउने एवं सेवाग्राहीले मागेको सूचना तोकिएको अवधिभित्र उपलब्ध गराउने कार्य प्रभावकारी रुपमा कार्यान्वयन नगराउने निकायहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन र त्यसको जानकारी १५ दिनभित्र समितिलाई उपलब्ध गराउन समेत समितिले आयोगलाई निर्देशन दिएको छ ।

यस्तै सूचना आयोगलाई सहज र प्रभावकारी रुपमा काम गर्ने वातावरण सिर्जना गर्ने प्रयाप्त स्रोत, साधन र जनशक्ति सहित भौतिक संरचनाको तत्काल व्यवस्था मिलाउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

छलफलमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको कार्यन्वयनका लागि सूचनाको हक सम्बन्धी ऐन पुरानो भएकाले यसलाई संशोधन गरी समयानुकुल बनाउनु आवश्यक रहेको बताए ।

छलफलमा सासंदहरुले सूचनाको हक कार्यन्वयनमा नल्याउने निकायहरुलाई कारवाही गर्ने अधिकार आयोगसँग हुँदाहुँदै पनि यसको कार्यान्वयन पक्ष फितलो भएको, नागरिकले सहज रुपमा सूचनाको हक उपयोग गर्न नपाएको लगाएतको विषयमा ध्यानाकर्षण गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित