
काठमाडौं, १३ साउन । काठमाडौं महानगरपालिकाले पालिकाभित्रका विद्यालयहरुमा अध्ययन अध्यापन गराइने गरी स्थानीय विषयको पाठ्यक्रम तयार पारेको छ ।
यो सँगै अब काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।
महानगरपालिकाभित्रको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेको महानगरपालिकाले बताएको छ ।
महानगरपालिका क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको हो ।
काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय छन् भने संस्थागत विद्यालयको संख्या ६४० छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, शीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक अवस्था, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समावेश गरी पाठ्यक्रम तयार पारेको हो ।
स्थानीय सरकार गठन भइसकेपछि राज्यको नीति अनुरुप नै स्थानीय विषयको पाठ्यक्रम स्थानीय सरकारबाटै निर्माण गरी लागू गर्न लागिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।













प्रतिक्रिया