शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

दैनिक नेपाल २०७७ साउन १२ गते १८:०८

काठमाडौँ, १२ साउन । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले एक साताभित्र नतिजा सार्वजनिक गर्न तयारी थालेको बताएको हो ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको जनाए ।

शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको छ । यसै साता नतिजा प्रकाशनको तयारी गरेका छौँ ।’

यसपटक विद्यालय आफैँले रुजु गरेर लेजर तयार पारेकाले त्रुटि कम हुने पनि बोर्डले जनाएको छ ।

तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरूमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटि पाइएकाले एसइई मूल्यांकनका सन्दर्भमा विद्यालयहरू र इकाईहरूसमेत गम्भीर नदेखिँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताए ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो ।

लकडाउनका कारण परीक्षा लिन नसकेपछि सरकारले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।
यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित