शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री ओलीको राजीनामाबाट पछि हटे प्रचण्ड, स्थायी कमिटी एजेण्डाअनुसार अघि बढ्ने

दैनिक नेपाल २०७७ साउन १२ गते १७:२६

काठमाडौँ, १२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले उठाउँदै आएको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय नउठ्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक एजेण्डाअनुसार अघि बढाउने बताएपछि प्रधानमन्त्री ओलीको राजीनामाको विषय नउठ्ने भएको हो ।

सोमबार प्रचण्ड निवास खुमलटारमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग छलफल गर्दै प्रचण्डले स्थायी कमिटी बैठक एजेण्डाअनुसार नै अघि बढ्ने बताएका हुन् ।

उनीहरुबीच भएको छलफलमा साउन १३ गते (भोलि) हुने तय भएको स्थायी कमिटी बैठक कुनै पनि हालतमा नसार्ने र एजेण्डाअनुसार नै छलफल अघि बढाउने निष्कर्ष निस्किएको प्रचण्ड निकट एक नेताले जानकारी दिएका छन् ।

असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि पटकपटक स्थगित हुँदै आएको छ ।

आज करिब ३ घण्टा भएको छलफलमा घाँटीको समस्याका कारण धेरै नबोलेका प्रचण्डले एजेण्डाअनुसार नै स्थायी कमिटी बैठक अघि बढाउने बताएपछि नेताहरु खनाल र नेपालले पनि सहमति जनाएका हुन् ।

एजेण्डाअनुसार बैठक अघि बढाइने भएपछि स्थायी कमिटीमा अव प्रधानमन्त्रीको राजीनामाको बिषय स्थगित भएको नेताहरुको बुझाइ छ । किनकी स्थायी कमिटीमा छलफल हुने एजेण्डामा प्रधानमन्त्री ओलीको राजीनामाको विषय राखिएको छैन ।

यस्ता छन् स्थायी कमिटीमा छलफल हुने एजेण्डा :

१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन ।

२. कोभिड १९ को नियन्त्रण, रोककथाम र उपचार सम्बन्धमा ।

३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।

४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।

५. पार्टी कामको समीक्षा र सांगठानिक एकथाको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।

६. एममसीसीका सम्बन्धमा ।

७. विविध
क. रूकुम घटना ।
ख. नागरिकता विधेयक ।
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

एजेण्डाअनुसार नै स्थायी कमिटीको बैठक अघि बढाउनेमा नेता खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमति जनाएसँगै भोलिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय नउठ्ने नेताहरुले जनाएका छन् । यसैबीच अध्यक्ष प्रचण्डले आजै उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटवार्ता गरेका थिए ।

पछिल्लो समय पार्टीभित्र चुलिएको विवाद समाधानका लागि अध्यक्षद्धयले पटकपटक गरेर छलफल गरेपनि कुनै ठोस निष्कर्ष निस्किएको छैन ।

प्रतिक्रिया
सम्बन्धित