बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खुमलटार बैठकको निष्कर्ष : कुनै पनि हालतमा स्थायी कमिटी बैठक नसार्ने

दैनिक नेपाल २०७७ साउन १२ गते १५:३७

फाइल तस्वीर

काठमाडौँ, १२ साउन । सत्तारुढ नेकपाभित्रको विवाद पुनः सुरु भएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा दाहालसँगै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच ३ घण्टा छलफल भएको छ ।

छलफलले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पद नछोड्ने राखे पनि कुनै पनि हालतमा स्थायी कमिटीको बैठक नसार्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन् ।

पार्टी भित्रको आन्तरिक विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठक ८ पटक स्थगित भइसकेको छ ।

बैठक साउन १३ गते मंगलबार बोलाइएको छ । साउन १३ गतेको बैठक पनि ओलीले रोक्न खोजे अध्यक्ष प्रचण्डले अघि बढाउने खुमलटारको बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पटक पटक गरेर छलफल भइरहे पनि ठोस निष्कर्ष निस्केको छैन ।

पछिल्लोपटकको उनीहरुबीचको छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै अग्रसरतामा एमाले पार्टी दर्ता गरिएको बताएपछि पार्टी विवादले नयाँ तरंग पैदा गरेको हो ।

प्रधानमन्त्री ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहेको तर जिम्मेवारीबाट भाग्ने काम नगर्ने बताउँदै आएका छन् । पार्टी विवाद समाधान गरेर एकतालाई मजबुत बनाउन नेकपालाई कार्यकर्तादेखि दोस्रो तहका नेताहरुको चर्काे दवाव रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित