शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमार चेपाङको शव काठमाडौं ल्याइयो

दैनिक नेपाल २०७७ साउन १२ गते १०:४०

काठमाडौं, १२ साउन । नेपाली सेनाका जवानको कुटाइबाट मृत्यु भएको भनिएका चितवनका राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

चितवनको भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव पोस्टमार्टमका लागि आइतबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

भरतपुर अस्पतालले फरेन्सिक विशेषज्ञ नभएको भन्दै विवादित घटनाको उक्त शव पोष्टमार्टम गर्न काठमाडौं पठाएको हो । ४ जना चेपाङ अगुवाले उक्त शव काठमाडौं ल्याएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवारका सदस्यहरु सहमत भएका थिए ।

वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक १ हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको रोजगारी दिने सहमति भएपछि पोष्टमार्टम गर्न उनीहरु राजी भएका हुन् ।

गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका भनिएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिट भएको केही दिनमै उनको मृत्यु भएपछि उनका परिवारले सेनाको कुटाइबाटै मृत्यु भएको दाबी गर्दै आएका छन् ।

चेपाङको साउन ८ गते मृत्यु भएको थियो । घटनाबारे नेपाली सेनाको मुख्यालयले पनि आन्तरिक अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित