शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उपप्रधानमन्त्री पोखरेलसँग अमेरिकी राजदूत बेरीको छलफल, एमसीसीबारे चासो व्यक्त

दैनिक नेपाल २०७७ साउन ११ गते १८:४८

काठमाडौँ, ११ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले भेटवार्ता गरेका छन् ।

भेटमा राजदूत रेण्डी बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा नेपाल सरकारसँग प्रगती विवरणबारे चासो लिएका छन् ।

राजदूत बेरीले आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर एमसीसीबारे नेपाल सरकारले गरिरहेको कामको चासो लिएका हुन् ।

एमसीसीबारे सत्तारुढ नेकपाकै नेताहरुमा एक मत नभएको बेला राजदूत बेरीले यस विषयमा चासो राखेका छन् ।

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे जानकारी लिएका हुन् ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट एमसिसी सहयोग माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताए ।

रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको स्वीकार गरेका थिए ।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राखेका थिए ।

अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित