
काठमाडौँ, ५ साउन । नेपालका गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् ।
पहिचान हुन नसकेको उक्त रोगले अहिले नेपाल-भारत सीमावर्ती इलाकाका गाईहरू थलिन थालेका छन् ।
मोरङमा उक्त रोगका कारण करिब एक दर्जन गाई मरेको पशु अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ ।
उक्त रोग लागेपछि गाईले दुध दिन छोड्ने वा कम दिने गरेको पशुरोग चिकित्सकहरूको भनाइ छ ।
रोगका लक्षण
मेचीनगर नगरपालिका १० की लीला अधिकारीको घरमा पालेको गाईको शरीरभरि घाउ थिए ।
केही घाउ फुटेर तरल पदार्थ बगिरहेको थियो भने गाईलाई उठ्न र बस्न समेत गाह्रो भएको देखिन्थ्यो ।
केही दिनदेखि गाईले दुध पनि कम दिन थालेको अधिकारीले बताइन् ।
उनले भनिन्, “गाई छट्पटाउँछ र धेरै ज्वरो आउने भएको छ ।”
स्थानीय पशु प्राविधिकसँग सम्पर्क राखेर ज्वरो नियन्त्रण गर्ने केही औषधि गाईलाई खुवाए पनि गाईले सञ्चो भएको सङ्केत नदेखाएको उनले बताइन् ।
उनका छिमेकी लीला खनालको गाईको खुट्टा सुन्निएको छ र दुध कम दिन थालेको छ ।
खनालले भने, “केही दिन अघिसम्म त गाउँका एकरदुई वटा गाईमा यो रोग देखिएको थियो । अहिले त गाउँभरि यस्तै गाई छन् ।“
नयाँ भाइरल रोग
यस्तो प्रकारको रोग अहिले झापा, मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा फैलिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ ।
प्रयोगशालाका प्रमुख डा. सञ्जय यादवले भने, “मोरङमा करिब ३०० गाईमा यो रोग देखिएको छ । अन्य रोगको जस्तो यो रोगले गाई मर्ने दर चाहिँ कम छ ।”
उनका अनुसार यो भाइरल रोग नेपालका लागि नयाँ हो। यसको परीक्षण तथा उपचारको विधि नेपालमा अहिलेसम्म छैन ।
बर्खापछि सङ्क्रमण बढ्न सक्ने
मनसुनका कारण अहिले प्रायः गाई गोठमा छन्। बर्खाको समयपछि गाईलाई गोठ बाहिर निकालेपछि यो रोगको सङ्क्रमण अझ बढ्नसक्ने पशुरोग चिकित्सकहरूको आकलन छ ।
प्रदेश नं १ का पशुपन्छी विकास महाशाखाका प्रमुख पशुपति ढुङ्गानाले भने, “यो एउटा गाईबाट अर्को गाईमा सर्ने रोग हो । गाई चराउन निकाल्दा अन्य स्वस्थ गाईमा पनि यो फैलने सम्भावना छ ।“
यो रोगलाई समयमा नियन्त्रण नगरे गाईपालन व्यवसायमै ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउनसक्ने पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. यादव बताउँछन् ।
यो भाइरल रोग कुन हो भनेर यकिन भइनसकेको पशु सेवा विभागकी उपमहानिर्देशक डा. सम्झना काफ्लेले बताइन् ।
अहिले उक्त रोगबाट प्रभावित जिल्लाका गाईका नमुना सङ्कलन गरेर प्रयोगशालामा राखिएको बताइन् । तर नमुना परीक्षणका लागि समय लाग्ने उनको भनाइ छ ।
डा. काफ्लेले भनिन्, “यो किसिमको रोग भैंसीमा पनि हुन्छ । यो कुन रोग हो भनेर अनुमान चाहिँ लगाइसक्यौँ। परीक्षण नगरी यही हो भन्न सकिँदैन ।“
डा. यादवले रोगको परीक्षण गर्नका लागि टेस्ट किट विदेशबाट ल्याउनुपर्ने भएकाले एकरडेढ महिना लाग्न सक्ने बताए ।
नेपालमा ७० लाखभन्दा बढी गाई पालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आकलन छ ।
यो रोगको पहिचान तथा उपचार हुन नसके दुध उत्पादनमा ह्रास आउने पशुरोग चिकित्सकहरूको भनाइ छ । –बीबीसी















प्रतिक्रिया