
काठमाडौं, १ साउन । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाका विषयमा परिपक्वता देखाउन नसक्दा बेलामौका आर्थिक क्षति भएका विवरण बाहिरिने गरेका थिए । उनको अपरिपक्वताका कारण अब मानवीय क्षतिका समाचारहरू आउन थालेका छन् ।
मन्त्री हुनासाथ मेलम्ची आयोजनालाई काठमाडौंमा ल्याउने उनको मिति घोषित लक्ष्य अपुरो भएपछि सर्वाधिक आलोचना भएको थियो । मन्त्री मगरलाई असक्षम मन्त्रीका रुपमा पनि व्याख्या गरिएको थियो । फुस्रो लोकप्रियताका लागि उनले सुरु गरेको एटीएमबाट पानी भन्ने आयोजना पनि यसै तुहिसकेको छ ।
तैपनि मेलम्चीको पानी काठमाडौंमा झार्ने विषयमा विविध ठेकेदार कम्पनीका विषयका लफडा एकातिर भएपनि टनेलमा पानी झारेपछि मानवीय क्षती हुनेसम्मका जिम्मेवारी मन्त्री मगरको काँधमा पुगेको छ ।
खासगरी टनेलमा पानी झार्नासाथ मेलम्चीको सपना पूरा भएको र अन्य कुनै पनि दुर्घटना हुन नसक्ने भन्ने उनको दाबीले एक साताभित्रै मानवीय क्षतिका कारण हावा खाएको छ ।
भार क्षमता र सम्भावित दुर्घटनाको अध्ययनमा कमजोरी रहँदा टनेलको १७ नम्बर गेट पानीका कारण भत्किएको थियो । जहाँ मेलम्ची खानेपानी विकास आयोजनाका इन्जिनियरलगायत वेपत्ता थिए, एक जनाको शव फेला परिसकेको छ ।
तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोईतको शव विहीबार फेला परेको थियो । मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी उज्जवल महर्जनले जानकारी दिए । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको छ ।
यो मानवीय क्षतीसँगै मेलम्ची खानेपानीमा कहाँनेर कमजोरी रह्यो भन्ने विषयमा मन्त्री मगरले अहिलेसम्म अध्ययनका लागि खासै चासो देखाएकी छैनन् । कतिपयले उक्त परिक्षणका क्रममा भार थाम्न नसक्ने भन्दै विचार गर्नका लागि मन्त्रीलगायतलाई आग्रह गरेका थिए । उनले एउटा पत्रकार सम्मेलन गरी ‘त्यस्तो नहुने र आयोजनालाई सफल हुन नदिनेको तर्क’मात्र रहेको बताएकी थिइन् ।
आयोजनामा भएको भ्रष्टाचारलाई मलजल हुनेगरी यस्तो परिक्षण गरिएको जलस्रोत सम्बन्धी जानकार पत्रकार विकास थापाले शंका गरेका छन् । उनले लेखेका छन्,‘सामान्यतया सुरुङभित्र पानी छिराएर त्यसको परीक्षण सुख्खायाममा गर्ने गरिन्छ, कहाँ–कहाँ लिकेज (चुहिनें) छ भन्ने थाहा पाउन । बर्खायाममा परीक्षण गर्दा जताततै मुहान फुटेर धर्ती रसाएको छ । कहाँबाट चुहियो थाहा हुँदैन । यही थाहा नहोस् भन्नका लागि बर्खायाममा परीक्षण गरिएको हो ।’
यो परिक्षण नै गलत भएको भन्ने विषयमा थापाको थप तर्क छ,‘यो पृथ्वीमा विष तीन ठाउँमा पाइन्छ ः वनस्पति, जनावर (सर्प आदि) र भूमिगत । भूमिगत सतहमा हुने विषले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । क्यान्सरसमेत हुन्छ । विकसित देशमा सुरुङबाट खानेपानी ल्याउँदा त्यसलाईव वरिपरि ढलान गरिएको हुन्छ । तर मेलम्चीको साढे २६ किलोमिटर सुरुङमा ढलान (लाइनिङ) गरिएको छैन, गर्दा अर्बाैं रुपैयाँ लाग्छ । तर एडीबीजस्तो निकायले यति धेरै खर्च गर्नेवाला थिएन । यो गम्भीर विषय हो ।’
यसलाई थापाले ठेकेदार र आयोजनाको गम्भिर लापरवाही भनेका छन् । यस्तो संवेदनशील विषयमा अनुभवहीन इन्जिनियरलाई लगाउनुको अर्थ गल्ती, कमजोरी ढाकछोप होस् भन्नका लागि भएको आशंका गर्दै थापाले भ्रष्टाचार भएको हुनसक्ने अनुमान गरेका छन् । उनी भन्छन्,‘ढाकछोप गर्न र जनताको जीउज्यानप्रति सरकार संवेदनशील छैन भन्ने पुष्टि गर्छ ।’
त्यसो त मेलम्ची प्रकरणमा थापाले गरेका आशंकाका कतिपय परिघटना मन्त्री मगरसँग यसअघि भएका थिए । निर्माण गरिरहेको ठेकेदार कम्पनीलाई खेदाउने, सचिव फेरबदल गर्ने निर्णयमा मन्त्री मगरको प्रत्यक्ष संलग्नता थियो । तत्कालिन सचिव गजेन्द्र ठाकुरले मन्त्रीले आर्थिक हिनामिना गर्नका लागि यी सबै बितण्डा गरेको भन्नेसम्मको आरोप लगाएका थिए ।
मन्त्रालयमा रहेका विज्ञ समूहलाई छल्दै सीमित सहयोगीको भनाई र उडन्ते काममा लागेका कारण मेलम्चीको सुरुङमा पानी छिराउने निर्णयमा पनि परिपक्वता हुन नसकेको अधिकारीहरू बताउँछन् ।















प्रतिक्रिया