बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नागरिक जीवनमा रहेका दरबारका तन्नेरीहरूको आकर्षण

दैनिक नेपाल २०७७ असार ३१ गते ९:३०

काठमाडौं, ३१ असार । नेपालमा राजतन्त्र रहने कि नरहने भन्ने बहस चलिरहेका बेला हृदयेन्द्र शाह बालख थिए । उनलाई देशको व्यवस्था कता जाँदैछ भन्ने जानकारी थिएन ।

राजपरिवारमा जन्म लिनासाथ राजसंस्था रहे भावी राजाको भूमिका पाइसकेकै कारण गणतन्त्रको विकल्प राजतन्त्र रहन सक्ने बहस चलिरहेको थियो । त्यसैबेला बिराटनगर पुगेका तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले भनेका थिए– ‘बेबी किङ’को अवधारणामा जान सकिन्छ । हृदयेन्द्रको महत्वमाथि कोइरालाको संकेत थियो ।

भर्खरै दरबारविरुद्धको आन्दोलनले सक्रिय राजतन्त्र प्रतिस्थापन, युद्धले थिलथिलो भएको देशमा शान्तिको संकेत मिलिरहेका बेला कोइरालाको यस्तो अभिव्यक्ति विवादीत बन्यो । बन्नुको कारण थियो– पृष्ठभूमीमा तत्कालिन सात दल र माओवादीबीच १२ बुँदे समझदारीले ल्याएको शान्तिको बाटो र १९ दिने जनआन्दोलनको सफलता ।

हिमानी, पूर्णिका र कृतिका

त्यसबेला हृदयेन्द्रकी जेठी दिदी पूर्णिका, माइली दिदी कृतिका पनि साना थिए । बेलामौका बाबु पारसका कतिपय गतिविधि चर्चामा आउने गर्दथे । देशमा गणतन्त्र घोषणा भयो । राजाले नारायणहिटी दरबार छाडे । तर राजपरिवारको ‘चार्म’ भने जनतामा रहीरह्यो ।

अहिले राजसंस्था ढालेर ल्याएको गणतन्त्र बालख नै छ । बहुदलीय प्रतिस्पर्धा, भ्रष्टाचारले आक्रान्त भएको छ, गणतन्त्र । तर, दरबारका ति बालख भने तन्नेरी भएका छन् । चार्म अझ बलियो छ । आकर्षणको केन्द्र बनेका छन् ।

हृदयेन्द्र

केही दिनअघि एउटा अखबारमा पूर्णिकाको प्रेमी रहेको भन्ने समाचार बाहिरियो । त्यसको आधिकारीकता गलत भएको सन्देश दिन पूर्णिकाले शालिन प्रतिक्रिया दिइन्– सबैमा नमस्कार, मेरा बारेमा केही समाचार आएको रहेछ, नपत्याइदिनु होला ।

‘राजनीतिक दलका नेताको व्यवाहार शैली जस्तो दरबारका परिवारको हुँदैन । त्यसैले राजपरिवारलाई आस्थाको केन्द्रका रुपमा मानिने गरेको हो । यस्तो स्वभाव र शैली अर्को पुस्तामा पनि भेटिनेछ’, हिन्दूत्व र राजतन्त्रको माग गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘हामी त्यसैले राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक मान्छौं ।’

नागरिक तहमा पनि राजपरिवारको आकर्षणलाई नकार्ने ठाउँ छैन । हिमानी ट्रष्टका कतिपय सहयोगका कार्यक्रमका दौरानमा देखिएका दृश्य हुन् वा राजा ज्ञानेन्द्रको देशाटनदेखि विदेशसम्मका यात्रा, आम मानिसले चासोका साथ हेरिरहेका हुन्छन् ।

‘प्रत्यक्ष सत्तामा रहेका र केही छाप समेत कायम गरेका कारण ज्ञानेन्द्र शाह र उनको तेस्रो पुस्ताबीचको फरक छुट्याउन सकिएला । तर, सोही परिवारमा जन्म लिएको र शालिन व्यवाहार देखाउन जानेका कारण पनि पूर्णिका, कृतिका र हृदयेन्द्रको चार्म बलियो बनेको हो’, जानकारहरू भन्छन् ।

राजपरिवारप्रति आम मानिसको रुची बलियो रहेका एउटा सानो उदाहरण नीजि जीवनमा कस्तो व्यवाहार गर्छन् भन्ने चासोको लोकप्रियता पनि हो । केही समयअघि मात्र युवराज्ञी हिमानी, पूर्णिका र कृतिकाका केही टिकटक भिडिओ बाहिरिए । जसले भर्चुअल संसारमा नै निक्कै लोकप्रियता पाए । कतिपयले ति भिडिओलाई डाउनलोड गरी आफ्नो एकाउन्टमार्फत पनि देखाउने काम गरेका थिए ।

‘राजपरिवारको माया र स्नेह गर्ने जनता छन् । आजको पुस्ताले पनि तन्नेरी उमेरमा पुगेको गणतन्त्रभित्रका फोहोरी खेललाई रुचाएको छैन भन्ने प्रष्ट भएको छ’ बस्नेत थप्छन्,‘यो क्रम अझ बलियो हुँदै जानेमा कुनै शंका छैन ।’

प्रतिक्रिया
सम्बन्धित