बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ओली–प्रचण्डबीच ‘जेन्टलम्यान एग्रीमेन्ट’ !

दैनिक नेपाल २०७७ असार ३० गते १२:५४

काठमाडौं, ३० असार । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता कायम राख्न नयाँ ‘जेन्टलम्यान एग्रीमेन्ट’ हुने भएको छ ।

मंगलबार ओली–प्रचण्ड वार्तापछि नयाँ लिखित सहमति हुनेछ । उक्त सहमति नेकपाका अन्य नेताबीच लैजाने नलैजाने भन्ने विषयबारे निक्र्यौल भइनसकेको उच्च स्रोतले दाबी गरेको छ ।

नयाँ सहमतिमा उल्लेख हुने विषयहरूका बारेमा सांकेतिक सूचना बाहिरिए पनि स्वतन्त्र पुष्टिचाहिँ गरिएको छैन । यसको खाका शुक्रबारै तयार भइसकेको थियो ।

पार्टी नेतृत्व र प्रधानमन्त्री पदबाट ओलीको राजीनामा माग भएपछि चर्किएको नेकपा विवादले पार्टी बिभाजनसम्मको मोड लिएको थियो । तर ओली–प्रचण्ड दुवै खेमाका दोस्रो तहका नेताको समझदारीका आधारमा नै नयाँ सहमति भएको दाबी गरिन्छ ।

ओली पार्टी अध्यक्षको भूमिका रहे पनि सरकार सञ्चालनमा मात्र सक्रिय रहने तथा प्रचण्डले पार्टीका बैठकदेखि कार्यक्रम चलाउने ‘जेन्टलमेन एग्रीमेन्ट’पछि स्थायी समितिको बैठकमा एउटा प्रस्ताव लैजाने तयारी भएको छ । त्यो प्रस्ताव भनेको समयमा महाधिवेशन गर्ने र एकताका बेला भएको सहमतिअनुसार चल्ने तथा पार्टीका गतिविधिमा सरकार प्रमुखको दायित्व ‘प्यासिभ’ रहने विषयबस्तुमा आधारित हुनेछ ।

दुवैपक्षको अडान र समझदारीकाबीच यस्तो सहमति भएको संकेत नेकपाका अन्य नेताले दिएको बयानबाजीले पनि संकेत गरेको छ । ओलीनिकट रहेका उपप्रधान तथा रक्षामन्त्री, सचिवालय सदस्य ईश्वर पोखरेलले एकता हुँदाको सहमतिका आधारमा नै अघि बढिने बताइसकेका छन् । यस्तै, प्रचण्ड निकट मानिएका हरिबोल गजुरेलले ४ मंसिरमा भएको सहमतिअनुसार ओली प्रधानमन्त्रीमा सक्रिय र प्रचण्ड कार्यकारी भूमिकामा नै अगाडि जाने बताइसकेका छन् ।

‘दुई अध्यक्षको भेटपछि यहि विषयले व्यवाहारिक कार्यान्वयनको अन्तिम खाका बनाउनेछ, स्थायी समितिमा सदस्यलाई आश्वस्त पार्नका लागि प्रस्ताव गरी बैठक अन्त्य समेत हुनेछ’, उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार २ साउनमा बस्ने भनिएको स्थायी समितिको बैठकमा प्रस्तावले सहमति पाएपछि तत्कालका लागि नेकपाको विवाद समाधान भएको घोषणा समेत हुनेछ ।

सहमतिका लागि अगाडि बढेको र अहिले कोही कता कोही कता भन्ने मनस्थितिमा नरहनका लागि प्रचण्डले चितवनमा कार्यकर्तालाई गरेको आग्रहले पनि यसको संकेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित