शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आमालाई कोरोना पोजिटिभ देखिएपछि फिल्म निर्देशक पाठकले व्यहोरेको अस्पतालचर्या

दैनिक नेपाल २०७७ असार ३० गते १०:४२

काठमाडौं, ३० असार । अघिल्लो आइतबार अल्जाइमरकी बिरामी आमालाई उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल लगेपछि फिल्म निर्देशक केपी पाठकले नयाँ व्यवाहारको सामना गरे ।

ज्येष्ठ नागरिकको रेखदेखका लागि बाहिर केयर होममा रहेकी आमालाई बिरामले च्यापेपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

उपचारका लागि अघिल्लै सोमबार आमाको स्वाब संकलन गरी कोरोनाको पिसीआर परिक्षणमा पठाइयो । मंगलबार आमालाई कोरोना आइसोलेसनमा सारियो । विहीबार रिपोर्ट आयो– पोजिटिभ ।

यसपछि अस्पतालको लापरवाही, राज्यको गैरजिम्मेवारीता र कोरोना भाइरस नियन्त्रणका लागि खटिएका सम्बन्धित निकायको कमजोरीलाई प्रत्यक्ष अनुभव गर्न पाए ।

७५ बर्षकी आमाको हेरचाहका लागि खटिएका पाठकले पनि पिसीआर परिक्षण गर्ने चाहना राख्नु स्वभाविक थियो ।

‘विहीबार साढे १ बजे रिपोर्ट आएपछि तनावको यात्रा सुरु भयो, सरकारी अस्पतालहरूका व्यवाहार र गैरजिम्मेवारीता देखेर म चकित पनि भएँ’, पाठक भन्छन् ।

उनी झस्किए पनि । १५–२० जना ज्येष्ठ नागरिक र केही स्वास्थ्य कर्मचारी रहेको आमालाई राखिएको त्यो केयर होममा कन्टयाक्ट ट्रेसिङको त कुरै थिएन । उनको ध्यान कोरोना संक्रमणको सम्भावित खतरा कहाँ हुनसक्छ भन्नेतिर पनि मोडियो ।

ग्रान्डीले पाठककी आमालाई पाटन अस्पतालमा २ बजे रिफर गर्दा एम्बुलेन्स आइहाल्यो भनेको थियो । तर, एम्बुलेन्स आयो राती ८ बजे । ‘त्यो ६ घन्टा झनै तनावमा बित्यो’, उनी सुनाउँछन्,‘अनि पाटन अस्पताल पुगियो ।’

आमालाई उपचारका लागि मात्र लगेर हुने थिएन । साथै रहेका कारण आफ्नो पनि पिसीआर परिक्षणको इच्छा जाहेर गरे । अस्पतालमा खटिएका कसैले पनि वास्ता गरेनन् ।

पहिलो कर्तव्य आमालाई आइसीयुमा राख्नु थियो । सहयोगी एक जना स्वास्थ्य कर्मचारी आफन्तलाई राख्छु भन्दा ‘हुँदैन’ भन्ने जवाफ पाए । ‘मेडिकल पर्सन राख्न मिल्दैन । २०–२१ दिन राख्नुपर्छ । आइसीयुमा राखौं, रिपोर्ट लिन आउनु भने’, उनी सुनाउँछन्,‘तर मेरो पनि स्वाब लिऊ भन्दा मान्दैनन् । घर गएर कसरी बस्ने ?’

आफूले चिनेका साथीभाईदेखि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसम्मलाई तारन्तार फोन हानिरहे । ‘साढे १० बजे स्वाब लिइयो । शुक्रबार रिपोर्ट आएन । शनिबार पनि आएन । आइतबार पनि आएन । फोन उठ्दैन’, उनी सुनाउँछन्,‘चार दिन भयो रिपोर्ट नआएपछि मानसिक तनाव निक्कै भयो ।’

सोमबार भने उनको रिपोर्ट आयो– नेगेटिभ । ‘आफन्तदेखि सबै जनाले रिपोर्ट कस्तो आयो भनेर सोध्छन्, यसले पनि घोचिरहेको थियो’, उनी भन्छन्,‘ममा आत्मविश्वास भए पनि परिवारका अन्य सदस्यलाई झन् तनाव थियो । यसले बेचैन बनाएको थियो ।’

पाठक चकित भए ! चिनजानका मानिसलाई भनी स्वास्थ्य मन्त्रालयमा दबाब दिन खोजे । उपस्थित चिकित्सकलगायतसँग भनाभन र झगडाको अवस्थापछि मात्र आफूले बल्ल बल्ल पिसीआरका लागि स्वाब दिन सकेको स्मरण गर्दै सोध्छन्,‘सर्बसाधारणको अवस्था कस्तो होला ? समुदायमा मानिसको अवस्था के होला ?’

आमाको उपचारका क्रममा खटिँदा कोरोनाको महामारीको यो विषयलाई राज्य, सम्बन्धित निकाय र अन्यले हल्का रुपमा लिँदा समुदायसम्म गहिरोगरी छरिएको हुनसक्ने पाठकको विश्लेषण छ ।

‘मैले यो विषयलाई गोप्य राख्न सक्ने थिएँ । तर, अस्पतालको व्यवाहार, राज्यको गैरजिम्मेवारीताका विषयलाई बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो’, उनी सुनाउँछन्,‘मैले बारम्बार कन्टयाक्ट ट्रेसिङ किन गरिँदैन, यसले अप्ठेरो पार्छ समुदायमा भन्दा ‘यो मन्त्रालयको जिम्मेवारी हो’ भन्दै हलुका हिसाबले पन्छिने काम भएको छ । यसले काठमाडौंको समुदाय सुरक्षित छ भन्ने मलाई लागेको छैन ।’

समुदाय र नागरिकले कोरोना महामारीको यो संकटका बेला सम्बन्धित निकायका कामकारबाहीका कमजोरी र लापरवाहीका विषयमा थाहा पाउनुपर्छ भन्दै पाठक भन्छन्,‘अस्पताललगायतका निकायमा पनि राम्रो अवस्था छैन, नागरिक आफैंमात्र सुरक्षित हुने काममा ध्यान दिऔं नत्र मैले जस्तो दुख पाइएला नि !’

प्रतिक्रिया
सम्बन्धित