शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

प्रधानमन्त्रीले कूटनीतिक काैशलता देखाउन नसक्दा भारतसँग सम्बन्ध बिग्रियाेः रामचन्द्र पाैडेल

दैनिक नेपाल २०७७ असार ३० गते १०:०४

काठमाडौं, ३० असार। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले आफ्नो तहबाट देखाउनुपर्ने कूटनीतिक कौशलता देखाउन नसक्दा छिमेकी मुलुकसँगको सम्बन्ध विग्रिएको भएको बताएका छन् ।

नेपाली रेडियाे नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा भएको व्यक्तिबाट कसैलाई काखा र कसैलाई पाखा राख्ने व्यवहार र अभिव्यक्तिले नेपाल कुटनीतिक मामिलामा कम्जोर भएको बताए ।

‘अयोध्या भारतको नभई नेपालको हो’ भनेर प्रधानमन्त्री ओलीलेदिएको अभिव्यक्तिप्रति लक्षितगर्दै उनले भने,‘प्रधानमन्त्रीका धेरै अभिव्यक्तिहरु विवादित भइरहेका छन् । यसले कतिपय अवस्थामा कुटनीतिक हद पनि पार गरेको छ । हाम्रो संस्कृतिको खोजि गर्न आवश्यक छ । हाम्रा प्राचिन महत्वका विषयमा वार्ता गर्नुपर्छ । प्रधानमन्त्रीले सोचेर बोल्नुपर्छ । उहाँमा कूटनीतिक कौशलता कम्जोर देखिएको छ । प्रधानमन्त्रीले आफ्नो देशको तटस्थता बचाएर राख्नुपर्छ ।’

दुइतिहाई बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको पार्टीको प्रधानमन्त्रीले प्रमाण विहिन कुरा गर्दा त्यसले देशलाई दीर्घकालीन असर पार्ने उनको भनाई छ ।

पौडेलले एउटा छिमेकीलाई काखि च्याप्ने र अर्को छिमेकीलाई नानाथरी भन्ने ओलीको रणनीति गलत भएको दावी गर्दै सीमा सडकदेखि लिम्पियाधुरासम्मको नक्साको विषयमा भारतसंँगको वार्ता अगाडी बढाउनुपर्ने र कागजमा कोरेर मात्र नहुने बताए ।

उनले प्रधानमन्त्रीले ठोस काम गर्नुपर्नेमा हल्ला गर्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । बरिष्ठ नेता पौडेलले पार्टीको आन्तरिक विवादमा चीनलाई प्रवेश गराउनु गलत भएको भन्दै यस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको भनाई राखे ।

कोरोनाले प्रभावित बनाईरहेको समयमा बाढी पहिरोलागयतका अन्य विपत्तिहरु पनि आइपरेको भन्दै पौडेलले विशेष प्याकेजसहितको राहत घोषणा केन्द्रीय सरकारले नै गर्नुपर्ने बताए। उनले देशभरीनै बाढी पहिरो आएकाले स्थानीय जनप्रतिनिधिले मात्रै काम गर्न नसक्ने भएकाले केन्द्रीय सरकारले पर्याप्त स्रोत साधनको व्यवस्था गरिदिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित