शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पहिराेका कारण कास्की र लम्जुङमा ९ जनाको मृत्यु

दैनिक नेपाल २०७७ असार २६ गते ९:२६

पाेखरा, २६ असार । अविरल वर्षाका कारण कास्की र लम्जुङमाका विभिन्न ठाउँमा गएको पहिरोमा परी ९ जनाको ज्यान गएको छ ।

९ जना घाइते भएका छन् । पोखराको सराङ्कोटमा बिहीबार राति आएको पहिरोले घर पुरिदा ५ जनाको ज्यान गएको छ ।

पहिरोले घर पुरिदा अन्य ६ जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटस्थित गोठादीमा राति करीब साढे २ बजे आएको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिदा ५ जनाको ज्यान गएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । अहिलेसम्म ५ जनाको शव निकालिसकिएको छ,उनले भने,‘अन्यको खोजी भइरहेको छ।’ उनका अनुसार घरधनी थापा दम्पतीको शव भेटिएको छ ।

पहिरोमा पुरिएर ६ जना घाइते भएका छन्। उनीहरुलाई पहिरोले पुरिएर घाइते भएका उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।

घाइते मध्ये ४ जनालाई मणिपाल शिक्षण अस्पताल र २ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

यसैबीच, पोखरा–२५ हेमजामापनि गएराती पहिरो जाँदा १ जना बृद्धाको ज्यान गएको छ। हेमजास्थित शरदचन्द्र अधिकारीको घर राती करबि ३ बजे आएको पहिरोले पुरिदा अधिकारीका आमा हिमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बृद्धा आमालाई घरमा छाडेर अधिकारी दम्पती छिमेकीकोमा बास बस्न गएकाले उनीहरु भने ज्यान जानबाट जोगिएका छन्। पहिरोले ३ वटा बाख्रासमेत पुरेको प्रहरीले बताएको छ ।

पोखरा १७ छोरेपाटन सिमलटुँडामापनि पहिरोले घर पुरिदा ३ जना घाइते भएका छन् । पहिरोले स्थानीय चन्द्रबहादुर मगरको घर पुरिदा उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएका हुन् । उनीहरूको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षापछि आएको बाढीले रामघाट क्षेत्र भने डुबानमा परेको छ । रामघाट क्षेत्र डुबानमा परेपछि स्थानिय सुकुम्बासी बस्तीलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

लम्जुङमा पहिरोले घर पुरिँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको लम्जुङ प्रहरीले बताएको छ । लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार बेसीसहर नगरपालिका–७ सातबिसेमा पहिरो जाँदा घर पुरिएर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षिय दीपक तामाङ र श्रीमति २५ वर्षिय बिमाया तामाङ र छोरा ८ वर्षिय छेवाङ तामाङ रहेको डिएसपी थापाले बताए । भिरालो जमिनमा रहेको घरमा माथिबाट पहिरो झर्दा घर पुरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित