शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाल प्रहरीका एआईजी पाल : प्रतिस्पर्धाका ‘स्वस्थ्य राग’

दैनिक नेपाल २०७७ असार २५ गते १२:१०

काठमाडौं, २५ असार । नेपाल प्रहरीका २८ औं महानिरिक्षक (आईजी) नियुक्तिको निर्णयका लागि सरकारलाई दुविधा, कठिन र सकस नहुनुको पहिलो कारण हो– स्वस्थ्य सहयोगी ।

संगठनको हित र नयाँ रीतका लागि परस्पर प्रतिस्पर्धीको त्यागले पनि नेपाल प्रहरीको आईजीको फूली लगाउन भक्तपुरका शैलेश थापा क्षत्रीलाई सहज भयो । ब्याच मेट प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) हरि पालको स्वस्थ्य सहयोगका कारण नेपाल प्रहरीको नेतृत्वमा नयाँ उचाई देखिने स्पष्ट भएको हो ।

मन्त्रिपरिषदको बैठकले थापालाई निर्णय गर्नासाथ पाल गुमनाम वा प्रतिक्रियाविहीन भएनन् । मनमा कुनै लोभ र ईष्र्याका साधारण भनक समेत नराखेका पालले प्रतिक्रिया दिए,‘आईजी एक जना हुने हो, सहकर्मी साथी भए । खुशी छु । सहयोग र सामूहिकतामा नै चल्नेछु ।’

थापा आईजी नियुक्त भएको चर्चा जति चल्यो, त्यति नै एआईजी पालको प्रतिक्रियाले पनि स्थान पायो । नेपाल प्रहरीको इतिहासमा यो निक्कै सुन्दर समय रहेको पूर्वअधिकारीहरू बताउँछन् ।

नवनियुक्त आई थापा र एआईजी पाल

त्यसो त आईजी नियुक्तिका चर्चा चलिरहँदा थापा र पाल एकै सवारीमा एकै कार्यक्रममा निरन्तर देखिने गरेका थिए । खासगमा उनीहरूबीच कुनै स्पर्धा हुँदैछ भन्ने संकेत पनि थिएन ।

प्रहरीका एक जना पूर्वमहानिरिक्षक भन्छन्,‘आईजी थापा नियुक्तका बेला नदेखिएको अनेक प्रकारका चर्चा वा फन्डा, त्यसपछिका घटनाक्रमले पनि नयाँ सुरुआत भएको छ । योग्यताभित्रको योग्यताको कदर भनेको स्वस्थ्य सहयोगमा नै हुन्छ ।’

ति पूर्वमहानिरिक्षकको तर्कको कसीमा राखेर पाललाई हेर्न सकिन्छ । तत्कालिन समयमा आईजी पदमा सर्वेन्द्र खनालको नियुक्ति भएको बेला चर्चामा रहेका रमेश खरेलले डिआईजी पदबाट हठात् राजीनामा गरेका थिए । यसले राम्रो सन्देश पनि दिएको थिएन ।

‘सरकारका निर्णय ठिक या गलत भन्ने चिज कतिपय अन्य कारणका कारण पनि चर्चा हुन्छ । खरेलको राजीनामाले त्यस्तो संशय गर्ने मौका दिएको थियो । तर, पालको अहिलेको प्रतिक्रियाले प्रहरी नेतृत्वमा अब कुनै नकारात्मक रागले काम गर्दैन भन्ने पक्का छ’, पूर्वमहानिरिक्षक भन्छन् ।

पालको प्रतिक्रिया, उनको लगनशीलता र जिम्मेवारीतापूर्ण कामका कारण सरकारमा रहेका कतिपय मन्त्री, पूर्वअधिकारी र नेपाल प्रहरीकै पनि धेरै सदस्यले उनलाई ‘त्यागी’ भावना भएको बताउँछन् ।

एक अधिकारी भन्छन्,‘स्पर्धामा रहँदा जसले पनि मुख्य पद मेरो हो, मैले पाए हुन्थ्यो भनी अनेक प्रकारका बितण्डा गरेका उदाहरण छन् । राजनीतिक दाउपेचले नीजिकरण गरेको जस्तो आईजी पद र यसबारेको लडाईले संगठन बदनाम थियो । तर, अब सुधार भई एउटा नजीर बन्न थालेको छ ।’

पालले दिएको प्रतिक्रियाले मात्र उनको साधगी देखाउँदैन । सहकर्मी थापा आईजीको फूली लगाउनेदेखि प्रहरी प्रधान कार्यालयमा स्वागत गर्नेसम्मको अग्रसरता एआईजी पालले नै देखाएका थिए । यसले प्रष्ट हुन्छ– प्रहरी नेतृत्वमा कटुता छैन ।

प्रतिक्रिया
सम्बन्धित