शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालस्थित चिनियाँ राजदूत यान्कीको अभूतपूर्व सक्रियताको अर्थ

माधव नेपाललाई भेटेपछि खनालसँग वार्ता, प्रचण्डलगायत दोस्रो तहका नेतासँग पनि राजनीतिक अवस्थाबारे परामर्श गरिने

दैनिक नेपाल २०७७ असार २३ गते ११:१५

काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्कीले अभूतपूर्व सक्रियता देखाएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेता माधवकुमार नेपालसँग परामर्श गरेकी उनले मंगलबार बरिष्ठ नेता झलनाथ खनालसँग डल्लुस्थित निवासमा भेटवार्ता गरिन् ।

नेकपाभित्र भारतीय अधिकारीहरूले खेलेको सूचना बाहिरिएपछि चीनले पनि नजिकबाट समस्या समाधानका निम्ति चासो देखाएको बताइएको छ । नेकपा विभाजनको संघारमा पुगिरहेका बेला यान्कीले अहिले फुटेर होइन, जुटेर समस्या समाधानका निम्ति सक्रिय हुन सुझाव दिएको बताइन्छ ।

उनले विवाद समाधानका निम्ति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दोस्रो तहका नेतासँग पनि प्रत्यक्ष र परोक्ष कुराकानी गर्ने बताइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरिसकेकी छन् । ओलीलाई राजीनामा गराउने र नयाँ प्रधानमन्त्री नियुक्तिका विषयमा स्थायी समितिमा छलफल चलिरहेका बेला देखिएको राजनीतिक संकट मोचनका निम्ति यान्कीको सक्रियता बढेको हो ।

यो सक्रियतालाई कतिपयले चीनले नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष प्रभाव पार्न थालेको भनी व्याख्या गरेका छन् । राप्रपा अध्यक्ष कमल थापाले त भारतले सरकार गिराउन खोजेको भनी आरोप लगाएका प्रधानमन्त्री ओलीलाई चीनको सक्रियताले गणतन्त्र बलियो भएको हो त ? भनी प्रश्न गरेका थिए ।

त्यसो त नेकपामा जब–जब संकट आएको छ त्यसबेला यान्कीको सक्रियता बढेपछि चीनले अहिलेको सत्तालाई अपदस्त हुन नदिन जोडबल गरिरहेको अनुमान गरिन्छ । गएको वैशाखमा पनि नेकपाभित्रको विवाद चरम उत्कर्षमा रहेका बेला यान्कीको सक्रियताको प्रभाव देखिएको थियो ।

एमसीसी सम्झौतालगायत भारतले नेपालका बारेमा गरेका कतिपय राजनीतिक र प्रशासनिक हस्तक्षेपलाई चीनले नजिकबाट नियाँलेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित