शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सगुनलाई नेपाली बजारमा ठगी गरेको आशंकासहित कारबाहीको दायरामा तानियो

दैनिक नेपाल २०७७ असार २२ गते १०:३०

काठमाडौं, २२ असार । गैर कानुनी रुपमा नेपालमा शेयर विक्रि गरेको आशंकासहित धितोपत्र बोर्डले सामाजिक सञ्जालका लागि तयार गरिएको ‘सगुन’लाई कारबाहीको दायरामा तानेको छ ।

नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै मिनि आईपीओको प्रचारप्रसार गर्दै आएको सगुनको काम नेपालको कानुनसम्मत नभएको पुष्टि भएको छ ।

सन् २०१५ मा अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्टका लागि दर्ता भएको सगुनले नेपालमा पब्लिक अफरिङ भन्दै गैरकानुनी रुपमा शेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको थियो ।

कानुन त सगुनले अमेरिकामा रहेका त्यहाँका नागरिकलाई उक्त शेयर बिक्री गर्ने मात्र अधिकार पाएको छ । अमेरिकामा दर्ता भएको कम्पनीले विश्वभरबाट शेयर जारी गर्न पाउने भन्दै धितोपत्र सम्बन्धी कानुनविपरित नेपालमा आएर खुलेआम शेयर विक्रिका लागि प्रचारप्रसार गरेको भेटिएको हो ।

यसैकारण धितोपत्र बोर्डले उसलाई कारबाहीको दायरामा तानेको हो । नेपाल भित्रबाट शेयर जारी गर्न वा नेपालबाट आईपीओका लागि प्रचारप्रसार गर्न नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने प्रावधान छ ।

तर सगुनले अमेरिकामा दर्ता भएको भन्दै रेग ए अन्तरगत प्राईभेट प्लेसमेन्टबाट पूँजी संकलन गर्न आधिकारिक रुपमा अनुमति प्राप्त गरेको दाबी गर्दै आएको छ ।

अमेरिकाको धितोपत्र सम्बन्धी आयोगमा दर्ता भएकै आधारमा सगुनले नेपालमा आएर मिनि आईपीओको नाममा प्रचारप्रसार तथा विदेशमा रहेका नेपालीलाई समेत खुलेआम शेयर बिक्री गर्न नहुने नेपाली कानुनी मान्यता रहेको छ ।

नेपाली पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि सगुनले नेपालमा आएर खराब नियतका साथ मिनि आईपीओको नाममा प्रचारप्रसार गरेपछि कारबाहीको दायरामा तानेको जनाएको छ ।

अमेरिकी कानुनको दम्भमा नेपालमा खुलेआम मिनि आईपीओको नााममा प्रचार प्रसार गर्न नपाउने धितोपत्र बोर्डका अधिकारीहरू बताउँछन् ।

हाल सगुनको अंकित मूल्य ०.०००१ अमेरिकी डलर मात्र रहेको छ । तर उसले उक्त शेयर प्रतिकित्ता ३० डलरमा बिक्री गर्दै आएको छ । समूह सी अन्तर्गत जारी भएको उक्त शेयरको प्रति १० कित्ता बराबर १ मताधिकार मात्र रहेको छ । सन् २०१७ मा सगुनले प्रतिकित्ता २३ अमेरिकी डलरमा शेयर बिक्री गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित