६ कार्तिक २०८३, शुक्रबार

ओली–प्रचण्ड ‘रिभर्स’ नहुँदा आउने परिणामको लेखाजोखा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीको विवादका अनेक प्रभावहरूको चर्चा चलिरहेका बेला आइतबार राती सामाजिक सञ्जालमा ५ बुँदामा सहमतिको खाका भन्दै सन्देश बाहिरियो ।

प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्ष, माधवकुमार नेपालको संयोजकत्वमा ‘सरकार संचालन संयन्त्र, मन्त्रिमण्डल पुर्नगठन, असमान नियुक्ति बदर गर्ने, पुर्न नियुक्ति गर्ने, विधिसम्मत पार्टी संचालन, जिम्मेवारी बाँडफाँड ।

पूर्वएमालेहरूले व्यापक बनाएको यो सन्देशमा सरकार सञ्चालन संयन्त्रका विषयलाई बहस बनाइयो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने सहमतिको खाका भनी प्रचार भएको थियो । तत्कालै प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालले यसबारे टिप्पणी लेख्दै भनिन्,‘अहिले सामाजिक सञ्जालमा भएको चर्चामा कुनै सत्यता छैन ।’

यसको अर्थ सम्भावित देखाइएका सहमतिका लागि प्रचण्ड तयार छैनन् भन्ने नै हो । अर्थात्, जारी स्थायी समितिको बहुमतको निर्णयका आधारमा नै प्रधानमन्त्री ओलीले चल्नुपर्ने प्रचण्डको अडान हो ।

एक कदम अगाडि बढ्ने हो भने ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुको विकल्प रहने छैन । स्थायी समितिको बहुमतले यहि प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको थियो ।

यता ओलीको सहमतिको विन्दु पनि प्रधानमन्त्री पद र अध्यक्ष दुवै नछाड्ने हो । यसैको प्रतिक्रियाका रुपमा संसदको अधिवेशन रोकियो, नयाँ विधयेक मार्फत पार्टी विभाजनसम्मका योजना मात्र होइन, नेपाली कांग्रेसलगायतसँग सत्ता साझेदारीको श्रृङ्खलासम्म बहस पुगिसक्यो ।

सहमतिको मध्यविन्दु सोमबार दिउँसो हुने स्थायी समितिको बैठकअघिसम्म नभेटिए नेकपाले ठूलो परिणाम भोग्नुपर्ने अनुमान गरिएको छ । खासगरी ओली या प्रचण्ड दुई मध्ये एक रिभर्समा नगए नेकपा दुर्घटनाको चरणमा पुग्ने पक्कापक्की भएको छ ।

नेकपा स्थायी समितिको बैठकमा भएको चर्काचर्कीपछिको श्रृङ्खलाबद्ध घटनाक्रमको विकास यहाँसम्म आइपुग्नुका पछाडि कतिपय अदृश्य कारण रहेको पनि खुलाइएको छ । भारतीय राष्ट्रिय सुरक्षा परिषद र गुप्तचर विभाग रअका अधिकारीले नेकपाभित्र प्रचण्ड खेमालाई चलाएको भन्ने आरोप एकथरीको छ । खासगरी, ओलीले आफ्नो सत्ता ढाल्नका लागि भारतीय चलखेल आफ्नै पार्टीका नेतामार्फत भएको बताएका थिए ।

उता, नेकपाको आन्तरिक विवाद मत्थर बनाउनका लागि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सक्रिय रहेका विवरण आएका छन् । उनले नेता माधवकुमार नेपालसँग भेट गर्नुको अर्थ विवादबारे चीन प्रशासन नजिकबाट रहेको भन्ने बुझिन्छ ।

तर यो विवाद समाधानको नेतृत्व गरेका दुई खेमा ओली र प्रचण्ड रिभर्स नहुँदासम्म नेकपाको भविष्य मात्र होइन, यसका कारण पर्ने सदनको गणितीय सुविधा, असुविधा र अस्थिर सरकार हुन सक्नेछ । स्थिर सरकारका लागि जनताले दिएको जनमतको उपहास सँगै राजनीतिक संक्रमणलाई खुला निम्तो हुने निश्चित देखिन्छ ।