बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपाभित्र विवाद भइरहेका बेला चिनियाँ राजदूत सक्रिय, माधव नेपालसँग गाेप्य भेट

दैनिक नेपाल २०७७ असार २२ गते ७:१३

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् ।

राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी छिन् । भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ । कुराकानी के भए भन्नेबारे बताइएको छैन ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ । ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए ।

ओली र दाहाल मिलन भए पनि नेपाल कतै नमिल्ने हो कि भन्ने आशंका भइरहेका बेला यान्छी नेपाल भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि वैशाख १७ मा पनि प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि बढेको विवाद मिलाउन उनले भूमिका खेलेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित