
काठमाडौं, १९ असार । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमामा बोर्डर आउट पोष्ट (बीओपी) थप्दै प्रभाव समेत बढाएको तथ्यांकले पुष्टि गरेको छ ।
८७ वटा मात्र रहेको स्थायी बीओपीले भारतसँग जोडिएका सबै क्षेत्रमा प्रभाव राख्न सकेको थिएन । अहिले, अस्थायी बीओपीसहित १२९ को संख्यामा करिब ४ हजार ५१५ जना जनशक्तिलाई सीमा सुरक्षाका लागि नै खटाइएको छ ।
दरबन्दी थप नभएको अवस्थामा ४ हजार ३ सय ५० जनालाई खटाइएको सीमा क्षेत्रमा एक सय ६५ जनशक्ति बढेको यत्तिकै प्रष्ट देखिएको छ ।
सरकारले सीमा सुरक्षाको भार कम जनशक्ति रहेको सशस्त्रलाई नै दिएको बेलामा तराई क्षेत्रमा मात्र नभई हिमाल र पहाडी क्षेत्रमा पनि उसले प्रभाव बढाएको छ । सशस्त्र मुख्यालयको यो कदमलाई प्रभावकारी कामका रुपमा व्याख्या गरिएको छ ।
भारतसँग तराईमा मात्र नभएर केही पहाडी र हिमाली क्षेत्रमा पनि सीमामा हुने गतिविधिलाई निगरानीमा राख्न सशस्त्र प्रहरी मुख्यालयको यो रणनीतिलाई प्रभावकारी मानिएको छ । यसै सन्दर्भमा हालै नेपाल–भारत मात्र होइन, चीन समेत जोडिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बेस क्याम्प राखिएको छ ।
जसको अनुगमन र प्रभावकारीताबारे सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले निरिक्षण गरेका छन् भने साथमा प्रधान सेनापति पूर्णचन्द्र थापा पनि पुगेका थिए । दार्चुलाको छारुङमा पुगेका थापाले सीमा सुरक्षाका निम्ति सेनासहित अर्धसैन्य बल सशस्त्रले गरेको कामको उच्च प्रशंशा गरेका थिए ।
सीमामा सुरक्षा बेस क्याम्प बढाउन सरकारले महशुस गरे पनि सशस्त्र प्रहरी मुख्यालयले त्यसका लागि जनशक्ति थप्नुपर्ने भनी प्रस्ताव गरेको थियो ।
‘नीतिगत निर्णयलाई कार्यान्वयनमा ल्याउन व्यवाहारिक पक्ष पनि उत्तिकै बलियो हुनुपर्ने भएकाले थप जनशक्तिको आवश्यक परेको हो’, मुख्यालय स्रोतले भन्यो,‘यसै कारण हामीले सीमामा अझ सुरक्षा बलियो हुनेगरी कम्तिमा ९ हजार जनशक्ति थप हुनुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’
प्राकृतिक विपत्ती, महामारी, विभिन्न उद्दारका निम्ति पनि सशस्त्र प्रहरीको जनशक्ति नै प्रभावकारी ढंगले काममा खटिँदै आएको छ । उच्चतम सुविधा बिना पनि संगठलाई प्रभावकारी ढंगले अगाडि बढाउन आईजी खनालको व्यवाहारिक पक्ष असरदार देखिएको छ ।
हाल कोरोना महामारीमा सुरक्षा, सीमाबाट नेपाल भित्रिनेको सुरक्षा मात्र होइन, यहि मौकामा सीमामा हुने चोरीपैठारी र तस्करी नियन्त्रणमा पनि सशस्त्र प्रहरीको भूमिका बलियो र प्रभावकारी रहेको बताइएको छ ।
सशस्त्रको प्रभावकारीता बढाउनका लागि ५ सय स्थानमा बीओपी स्थापना गरिने लक्ष्य राखिएको छ । यसअन्तर्गत प्रथम चरणमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने भनिए पनि सशस्त्र मुख्यालयले दिएको जनशक्ति थप तथा व्यवस्थापनका विषयमा नीतिगत निर्णय भइसकेको छैन ।
सीमाको सम्पूर्ण सुरक्षा संवेदनशील भएका कारण जनशक्ति र आधुनिक हतियारसहित बन्दोबस्तीका सामा स्वभाविक रुपमा चाहिने भएका कारण सशस्त्र मुख्यालयले माग गर्नु कुनै नाजायज विषय नभएको सुरक्षा मामिला जानकारहरू बताउँछन् ।















प्रतिक्रिया