बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

असारभित्रै ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा वा अपदस्त गराउने तयारी

दैनिक नेपाल २०७७ असार १६ गते १७:३४

काठमाडौं, १६ असार । असार महिनाभित्रै प्रधानमन्त्री पदबाट नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा वा अपदस्त गराउने तयारी भएको छ ।

पार्टी बैठकका निर्णय नमानेको, सरकार स्वेच्छाचारी ढंगले चलाएकोलगायतका विषयमा स्थायी समितिमा ओलीको आलोचना भइरहेको छ । यहि बीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टि पनि छताछुल्ल भएको छ ।

‘बैठकमा प्रचण्डले नै राजीनामा माग गरिसकेपछि यहि महिना अपदस्त गराउने तयारी हुन्छ । पहिलो राजीनामा माग स्वभाविक नै हुन्छ’, उच्च स्रोतले भन्यो ।

प्रचण्डले मात्र नभई पार्टी सचिवालयमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमले पनि उनको राजीनामा माग गरेका थिए । पार्टीभित्र बरिष्ठ नेताहरू कोही पनि सन्तुष्ट छैनन्, सहयोग र सपोर्टको अवस्था नहुनुमा ओलीले देखाएको व्यवाहार नै रहेको बताइएको छ ।

आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन शिर्ष सबै नेता एकजुट भएको नेपालको इतिहासमै संभवत यो पहिलो हो । २४ चैत, ०७६ साल अगावै प्रधानमन्त्री परिवर्तन गर्ने र दाहाल मात्र पार्टी अध्यक्ष बन्ने अन्तिम चरणको गृहकार्य कोरोना भाइरस र लकडाउनले अहिलेसम्म धकेलिएको थियो ।

मंगलबारको बैठकमा बोल्ने प्रचण्ड, नेपाल, खनाल सहित एक दर्जन उच्चस्तरका नेताहरुले ओलीको राजीनामा बाहेक अर्को समस्याको समाधान नभएको कुरा उठाएका थिए ।

प्रचण्ड र नेपालको भेटमा भएको कुराकानीमा ओलीलाई पार्टीको अभिभावक सल्लाहकारमा राखेर अघि बढ्ने, असारभित्र राजीनामा गराउने सहमति भएको बताइएको छ ।

मंगलबारै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि शितलनिवास पुग्नुको अर्थ पनि नेकपाभित्रको राजनीतिक परिवर्तन, सत्ता नेतृत्व परिवर्तनका बहस र चर्चासँग जोडिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित