शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ओलीको अस्वभाविक स्वभावका कारण नेकपामा देखियो गम्भिर मोड

विनोद ढकाल/टिप्पणी २०७७ असार १६ गते १७:०७

-विनोद ढकाल/टिप्पणी

काठमाडौं, १६ असार । थाँती रहेका र अनिर्णित कतिपय विषयलाई सहमतिका आधारमा टुंगो लगाउने पद्दतीअनुसार बसेको नेकपा स्थायी समितिको बैठकका अस्वभाविक प्रश्नोत्तर र भनाभनका विवरण सतहमा आएका छन् ।

नेतृत्वले टारिरहेको तर टर्न नसकेको स्थायी समितिको बैठकको मंगलबार भएको बहसमा आएका कतिपय विषय नेकपाका कार्यकर्तालाई झस्किने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भनाभनको विषय बाहिरियो ।

प्रचण्डले ओलीको राजीनामा नै माग गरेका छन् । उनले प्रष्ट शव्दमा प्रधानमन्त्री पदबाट मात्र हैन अध्यक्षबाट समेत हट्नुपर्छ भनी अन्य कसैले नभएर आफूले भनेको उदृतसहितका समाचार प्रकाशनमा आएको छ ।

यस्तो भनाभन भएको स्थायी समितिमा रहेका कतिपय मध्यधारका नेताले नै पुष्टि गरिसकेका छन् । यति मात्र होइन, केही नेताले दुवै अध्यक्षको मनोपोली नचल्ने तर्कवितर्क पनि सार्वजनिक गर्न थालेका छन् ।

सरकार सञ्चाल र पार्टी सञ्चालनका निम्ति फरक जिम्मेवारीको बाँडफाँट केही महिना अघि मात्र ओली–प्रचण्डबीच भएको थियो । त्यसको सतहमा प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’ भनिएको थियो । सो बेला ओलीको नेकपामै प्रभाव राख्ने नेता माधवकुमार नेपालसँगको सम्बन्ध चिसो भइसकेको अवस्थामा थियो ।

सचिवालयको बैठकले नेपालको बरिष्ठतालाई तल खसालेर खनाललाई माथि ल्याउने काम ओलीकै प्रस्तावमा गरिएको चर्चामा थियो । यति मात्र होइन, नेकपा सचिवालयका कतिपय निर्णयलाई नमानेका कारण पनि पार्टीभित्र ओलीको स्वभावको चर्को आलोचना भएको थियो ।

सचिवालयले गरेको उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयलाई पनि ओलीले उल्टाएपछि धेरै जसो नेताले स्थायी समितिको बैठक माग गरेका थिए । ओली यतिमा मात्र रोकिएनन्, अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा पारित गराउने विषयमा पनि पार्टीका नेता झलनाथ खनालको कार्यदलले दिएको प्रतिवेदनमा ओली बेखुस देखिए ।

‘पार्टीले भनेका र सुझाएका आधिकारीक विषलाई नमानी सरकारलाई आफ्नो अनुकुलताका हिसाबमा र स्वेच्छाचारी हिसाबले गम्भिर विषयमा निर्णय हुन थालेपछि ओली नेताहरूसँग टाढा हुन थालेका थिए’, एक स्थायी समिति सदस्य भन्छन् ।

नेकपा भित्र ओलीको व्यवाहारका कारण पार्टी नै विभाजन हुने या एकअर्काविरुद्ध शक्तिको प्रयोग गर्ने भन्ने विषयमा दुई महिनाअघि पनि निक्कै घम्साघम्सी परेको थियो । सोही बीचमा नेपालका लागि चीनकी राजदूतले नेताहरूसँग भेट गरेपछि साम्य भएको भनिएको विवादलाई फरक ढंगले पनि व्याख्या गरिएको थियो ।

सोही पृष्ठभूमीपछि भारतसँगको सम्बन्ध वार्ताको लिकभन्दा पर भगाउने काममा ओलीका कामकारबाहीले काम गरेको कतिपय नेकपा नेताको बुझाई छ । यो बुझाईलाई प्रचण्डले स्थायी समितिको बैठकमा नै उल्लेख गरेका थिए ।

पूर्व एमाले समूहभित्रका नेपालसँगको दूरी, खनाल, गौतमलगायतका बरिष्ठ नेतासँगको सम्बन्धमा चिसोपन आइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत चिढिएका विविध विवरणले भन्छ– ओलीको अस्वभाविक स्वभावले नेकपा राजनीतिमा गम्भिर मोड आएको छ । यहि मोडको बिम्बका रुपमा ओलीको राजीनामा मागसम्मका विषय उठेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित