शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ठ्याक्कै कम्युनिस्ट, पराजुली

दैनिक नेपाल २०७७ असार १५ गते १०:५२

काठमाडौं, १५ असार । किर्तिपुर बस्छन् देवेन्द्र पराजुली । उनका परिचयका आधार अनेक छन् । उनको कद राख्ने परिचयचाहिँ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ।

राजनीतिमा अनेक प्रकारका कार्यकर्तासँग रुमल्लिँदै, डाँडापाखा र चुल्हो चौतारो गरिसकेका छन् । नेताहरूमा प्रचण्ड, बाबुराम भट्टराईका विचारसँग सहमति र विमतिको उतारचढावमा पनि परेका थिए ।

भन्छन्,‘नेपालमा कम्युनिस्ट राजनीतिलाई संस्थागत गर्नका निम्ति हामी लागि परेका छौं । यो राजनीति मात्र होइन, समाज रुपान्तरणको नियात्रा पनि हो ।’

पक्कै पनि ! त्यसैले त वर्गीय उत्थानकै लागि उनी त्यसबेलाको मोटो मशालको बर्को ओढ्न लालयीत भए । त्यो यात्राको अहिलेको गतिचाहिँ नेकपामा अडिएको छ, पराजुलीको । पुरानो घर वा विर्ता जिल्ला लमजुङ रहेका पराजुली भन्छन्,‘विद्यार्थी राजनीतिमा पनि म सक्रिय भएर लागेको थिएँ । यसले एउटा आकार जन्मायो ।’

लेखनाथ पौडेलअघि अखिल क्रान्तिकारीको नेतृत्व सम्हालेका पराजुली केन्द्रीय समितिमा छन् । उनी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा पनि थिए । लगभग ३७ बर्षको कम्युनिस्ट राजनीतिमा उनको यात्रा चलिरहेको छ । उनलाई चिन्नेहरू भन्छन्,‘उहाँ ठ्याक्कै कम्युनिस्ट हो ।’

नेकपा नेतृत्वका सन्दर्भमा

सरकार सबैको हो, जनताको रक्षा सरकारको काँधमा हुन्छ । तर, सरकार कम्युनिस्टको नेतृत्वमा छ भन्ने उदाहरण कामले दिनुपर्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारका कामले नै प्रष्ट बनाउँदै आगामी चुनावमा जाने होइन, जनताले बोलाउने अवस्था हुनुपर्छ

यो वा ऊ नेताको पक्ष र प्रतिपक्षका रुपमा पराजुली उभिँदैनन् । नेतृत्वले कहिले लय विगार्ने र गति कमजोर बनाउने विषयले पनि कता कता उनमा प्रश्नहरू जागृत हुन्छन् । तर, यी समाधानविमुख छैनन् भन्नेमा ढुक्क छन् ।

नेतृत्व तहमा हुने विविध प्रकारका छलफल र त्यसले सतहमा देखाउने तरङ्गको छालसँग छैनन् पराजुली । उनी यसमा पनि मौलिक विचार राख्छन् । भन्छन्,‘पार्टी एकताका सबै काम सकिएका छैनन् । यो बेला विवाद र विभाजनको विषय होइन, एकता र जिम्मेवारीको कुरालाई दुई अध्यक्ष (केपी शर्मा ओली, प्रधानमन्त्री र पुष्पकमल दाहाल प्रचण्ड)ले टुंगोमा लैजानुपर्छ ।’

जनताले विश्वासका लागि नै कम्युनिस्टलाई पत्याएका कारण यो जनविश्वास गुमाउने खेल र राजनीतिको मियोँ घुम्ने प्रयत्नसँग पराजुली खुसी छैनन् । भन्छन्,‘एउटा अध्यक्षले ५ बर्ष सरकार चलाउने र अर्का अध्यक्षले पार्टी चलाउने भन्ने सहमति वा समझदारी जे बनेको थियो त्यसबाट कोही पनि विचलित हुनु हुन्न ।’

कसले पार्टी फुटाउने वा कसले सरकार गिराउने भन्ने सतही हल्ला भन्दा पनि जिम्मेवार कार्यकर्ता र यो समयमा जनताका दुखसुखमा नेता हुनुपर्ने उनको जिकीर छ । थप्छन्,‘पद्दती, विधि र विषयलाई नै हामीले ध्यान दिनुपर्छ ।’

नेकपा नेता बामदेव गौतमको राजनीतिक पद विधि विधान विपरित केन्द्रीय समितिबाटै अनुमोदन गरेको स्मरण गरेका पराजुली भन्छन्,‘हामीले गल्ती गरेका थियौं या ठिक, त्यो त हाम्रा अघिल्ला सहमति र समझदारीले प्रष्ट बनाउँछ । तैपनि अब कुनै एक व्यक्तिको लागी होइन, पार्टीका लागि निर्णय हुनुपर्छ भन्ने मान्यता राख्छु ।’

सरकारले लय लिएर आफ्ना राम्रा कामका विषयमा प्रस्तुत हुन सक्नुपर्छ भन्ने पराजुलीको धारणा छ । पार्टीले सरकारलाई गाइड गर्ने, सरकारका राम्रा कामको प्रचार गर्ने, कमजोरी औंल्याएर सच्याउने ठाउँ देखाउनुपर्छ भन्ने ठान्छन् । त्यसो भइरहेको छ त ? ‘त्यो हुन नसक्नुको परिणाम नै कहिलेकाहीँ देखिने विवादीत प्रचारबाजी हुन्’, पराजुली जोड्छन्,‘यसलाई निमिट्यान्न पारी यो महामारीको बेला नेकपाको सक्रियता अनिवार्य छ ।’

सतहमा नै कम्युनिस्टको जीवन रहेका कारण त्यो वर्गलाई छिचोलेर कोही नेता वा नेतृत्व मात्रै अगाडि हिँड्न नहुने उनको भनाई छ । त्यसो गरे मुलुकमा आएको परिवर्तन र यसलाई संस्थागत गर्ने जिम्मेवारीमा ह्रास आउने देख्छन् । भन्छन्,‘सरकार सबैको हो, जनताको रक्षा सरकारको काँधमा हुन्छ । तर, सरकार कम्युनिस्टको नेतृत्वमा छ भन्ने उदाहरण कामले दिनुपर्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारका कामले नै प्रष्ट बनाउँदै आगामी चुनावमा जाने होइन, जनताले बोलाउने अवस्था हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित