मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

व्यवस्थाविरुद्ध जसले राँको दन्काउन थालेको छ

दैनिक नेपाल २०७७ असार १२ गते ११:२५

झापा, १२ असार । जब आराम गर्नुपर्ने वा देशाटनको सुरुआत गर्नुपर्ने मुडमा उत्रिन्छन् पूर्वराजा ज्ञानेन्द्र शाह, अनि झापातिर हानिन्छन् ।

राजसंस्थात्मक शासन प्रणालीका अन्तिम राजा ज्ञानेन्द्र तथा गणतन्त्रलाई मानेर नागरिक जीवनमा व्यस्त रहेका उनी राज्य प्रणालीको अस्तव्यस्तता र यसको विरोध समेत नियाँलिरहेका छन् ।

अहिले गणतन्त्र व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने मान्यता साथ राजसंस्था पक्षधर शिव सेना नेपालले देशका विविध स्थानमा राँके जुलुस लगाउने क्रममा झापामा पनि निकालेको थियो ।

यो महामारीको बेला विविध जिल्लामा राँके जुलुस निकाल्नुको कारण खुलाउँदै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘जनताले परिवर्तनमात्र होइन, सुखशान्ती, धार्मिक व्यवस्था, चुस्त राज्य चाहेका थिए । त्यसो हुन सक्यो त ? राज्यसँग किन नागरिक असन्तुष्ट छन् भन्ने देखियो । महामारीकै पनि उचित व्यवस्थापन गरेको पाइयो त ?’

सरकारविरोधी नभएर व्यवस्था बिरोधमा नै जनता सडकमा आउने अवस्था बेलामौका इतिहासमा आउने गरेको स्मरण गर्छन्, बस्नेत ।

बेथिति, भ्रष्टाचार र शासन प्रणालीले नेपाली जनतालाई न्याय दिन नसकेको भन्दै आन्दोलनको स्वरुप मोडियो र हिंसात्मक लयमा राजनीति हिँड्यो । त्यसको असहज परिणामसँगै राजसंस्था हटाउँदै गणतन्त्रसम्म स्थापना भयो । तर व्यवस्था परिवर्तन भए पनि बेथिति र भ्रष्टाचारको आँकडामा कमी होइन, कयौं गुणाले बढोत्तरी भएको स्पष्ट चित्र देखिन थाल्यो ।

‘एउटा राजा नहुँदैमा मुलुकमा काया पलट हुन्छ भन्ने अवस्था आयो त ? सबैभन्दा मूल कुरा व्यवस्थाको परिवर्तन, राजाको बहिर्गमन होइन रहेछ, दलीय भागवन्डा र बेथितिको नियत परिवर्तन रहेछ भन्ने बुझियो’, बस्नेत जोड्छन्,‘यसै बेला राँके जुलुसमा जनताको सहभागीता हुनु भनेको हाम्रो जीत भयो भन्ने होइन, व्यवस्थासँग जनता रुष्ट हुन थाले भन्ने प्रमाण हो ।’

अहिले मुलुकमा कम्युनिस्ट शासन छ । त्यसका महान् मध्येका मदन भण्डारीले एउटा राजा हुँदैमा कुनै असर नगर्ने तर साम्राज्यवाद, विस्तारवादको छायाँ रहेसम्म मुलुक अघि बढ्दैन भनेको स्मरण गरेका बस्नेत जोड्छन्,‘सीमाका विषयमा देखिएको दबाब, एमसीसीका विषयमा देखिएको सतहसम्मको विवाद कस–कसको छायाँ हो ?’

यसै सन्दर्भका विरोधमा झापामा पनि विशाल राँके जुलुस दन्किएको थियो । झापा जिल्ला अध्यक्ष बद्री महतको नेतृत्वमा राष्ट्रवादी युवा समाजले चारआलीमा राँके जुलुस निकालेको थियो ।

‘कम्युनिस्ट स्थापित गर्ने त्यहि झापामा आज यहि व्यवस्थाविरुद्ध जना सडकमा आउनुपर्ने अवस्था, त्यो अवसर राजनीतिक बेइमानी र बेथितिले दिएको हैन?’, बस्नेत सोध्छन्,‘धर्मको विनाश, मौलिकताको नाश, राजसंस्थाको बहिर्गमन गराउने शक्ति नेपालको भू राजनीति मात्र थियो ? हामी यहि विषयमा राँके जुलुस लगाएर सोधिरहेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित