३ कार्तिक २०८३, मंगलबार

स्वास्थ्य सामग्री खरिदमा मूल्य अन्तर उच्च

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई फरक प्रक्रियाबाट खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर पाइएको छ ।

सेनाले भित्र्याएका अधिकांश स्वास्थ्य सामग्री ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले ल्याएभन्दा सस्तो छ । तर यी दुवैले सरकारलाई उपलब्ध गराएका सामग्रीभन्दा बजार मूल्य निकै सस्तो छ ।

सुरुमा स्वास्थ्य मन्त्रालयकै समन्वयमा स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) सँग २०७६ चैत १२ गते गरेको खरिद सम्झौतामा उल्लेख गरिएका सामग्रीको रकम, पछि सेनाले ‘जीटूजी’ प्रक्रियाबाट ल्याएका स्वास्थ्य सामग्रीको रकम तथा बजार मूल्यमा उच्च अन्तर देखिन्छ ।

स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार ओबीसीआई र सेनाले खरिद गरेका सामग्रीका मूल्यमा यस्तो अन्तर पाइएको हो । चिनियाँ अनलाइन बजारको मूल्य सूची र काठमाडौंमा स्वास्थ्य सामग्री बिक्री गर्ने एजेन्सीहरूका अनुसार पनि मूल्यमा धेरै भिन्नता छ ।

सेनाले चीनबाट ६९ थरी स्वास्थ्य सामग्री करिब २ अर्ब २६ करोड रुपैयाँमा खरिद गरेको हो भने ओम्नीले करिब २७ करोड ६५ लाख रुपैयाँबराबरको सामान ल्याएर नेपाल सरकारलाई बेचेको थियो ।

ओम्नीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न चरणमा गरेर १८ वटा सामान खरिद गर्ने निर्णय भएको थियो । तर नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चीनबाट ल्याएका पहिलो लटका सामग्रीको गुणस्तर तथा मूल्यलाई लिएर विवाद भएपछि सम्झौता तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको थियो ।

नेपाली बजारमा मास्क, पीसीआर तथा आरडीटी किटलगायत सामग्री अभाव रहेका कारण विवादबीच नै विभागले ओम्नीले ल्याएका ९ थरी सामान भने प्रयोग गर्ने निर्णय गरेको थियो ।

ओम्नीसँगको खरिद प्रक्रिया विवादित बनेपछि मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको समन्वयमा सेनालाई सामान खरिद गर्न लगाउने निर्णय गरेको थियो । चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीलगायतका उपकरण खरिद गर्न रक्षा मन्त्रालयमार्फत निर्देशन दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि सेनाले स्वास्थ्य र रक्षा मन्त्रालयसँग समन्वय गरी परराष्ट्र मन्त्रालयमार्फत चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरमा रहेका दूतावासमार्फत ‘जीटूजी’ प्रक्रियाबाट सामान खरिद गर्न पत्राचार गरेको थियो । पत्राचार गरिएका ५ मुलुकमध्ये चीनले मात्रै सबै स्वास्थ्य सामग्री उपलब्ध गराउन सक्ने जानकारी पठाएपछि चीनसँग २ अर्ब २६ करोड रुपैयाँबराबरको सामान खरिद गर्न प्रक्रिया अघि बढेको थियो ।

सेनाले चीनबाट विभिन्न ६९ प्रकारका कुल २ सय ४३ टन स्वास्थ्य सामग्री खरिद गरेकामा सडक र हवाईमार्गबाट अधिकांश सामग्री आइसकेको छ । केही आउने क्रममै छन् ।

कोरोनाको महामारी विश्वभर फैलिन थालेसँगै नेपालले पनि त्यसबाट जोगिने तयारी गर्दै २०७६ फागुन महिनादेखि नै आधारभूत सामग्री किन्ने तयारी सुरु गरेको थियो । तर, स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिद गर्नका लागि आह्वान गरेको बोलपत्रमा कसैले पनि इच्छा प्रकट नगरेपछि छलफलबाट खरिद गर्ने प्रक्रियामा मन्त्रालय अघि बढेको थियो ।

ओम्नीले विभागलाई एउटा गाउन १ हजार ९ सय १३ रुपैयाँमा उपलब्ध गराएको थियो भने सेनाले खरिद गरेको लेभल–३ डिस्पोजेबल गाउनको २ हजार ३ सय ७६ रुपैयाँ परेको छ । जब कि ‘अलिबाबा डटकम’ तथा ‘मेड इन चाइन’ जस्ता ‘बी२बी’ (बिजनेस टू बिजनेस) का आधारमा चिनियाँ सामग्री खरिद गर्नका लागि चर्चित वेबसाइटमा ‘एफडीए’ र ‘सीई’ गुणस्तर प्रमाणित त्यस्तो गाउन थोरैमा ७ सय २० र धेरैमा २ हजार ४० रुपैयाँमा उपलब्ध हुने देखिन्छ । ओम्नी, सेना तथा बजार मूल्यको हिसाब गर्दा एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँले गणना गरिएको छ ।

ओम्नीसँग खरिद प्रक्रिया अगाडि बढाउनुपूर्व नै विभागले विभिन्न तीन एजेन्सीबाट प्राप्त गरेको कोटेसनमा पनि सञ्जीव सर्जिकल हाउसले उक्त गाउन ४ सय, मोदी क्राफ्ट हेल्थ इनोभेसनले २ हजार ९ सय ७० तथा भण्डारी सर्जिकलले ७ सय ५० रुपैयाँमा उपलब्ध गराउन सक्ने उल्लेख गरेका थिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।