३ कार्तिक २०८३, मंगलबार

नेकपा-सीपीसी आत्मीयता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । सत्तारूढ दल नेकपाभित्रको आन्तरिक बहसमा अहिले एकैपटक तीनवटा शक्ति राष्ट्र भारत, अमेरिका र चीन जोडिन आइपुगेका छन् । वर्षौंदेखि अतिक्रमणमा परेको नेपाली भूमि आफ्नो नक्सामा समेटेर संवैधानिक वैधता दिएपछि भारतसँग सत्तारूढ दल नेकपा र उसको नेतृत्वको सरकारको आगामी सम्बन्ध के होला भन्ने कोणबाट बहस भइरहेको छ ।

उता शक्ति राष्ट्र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताका कारण नेकपाभित्र राष्ट्रवाद र राष्ट्रघातको जुहारी चलिरहेको छ । एक वर्षदेखि संसदीय अनुमोदन गर्ने कि नगर्ने भन्ने किचलोले अमेरिकासँगको सम्बन्धमा समेत चिसोपनाको संकेत देखा पर्दै छ । दुई शक्ति राष्ट्र भारत र अमेरिकासँग यसरी चिसोपन बढिरहँदा अर्को ठूलो शक्ति राष्ट्र चीनसँगको सम्बन्धमा भने नेकपाको हार्दिकता र न्यानोपन झन् बढ्दै छ । त्यसैको पछिल्लो उदाहरण हो– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच शुक्रबार भएको ‘उच्चस्तरीय भर्चुअल कार्यशाला ।’

कोभिड–१९ महामारीका कारण आवतजावत बन्द छ । जसका कारण आपसी भ्रमण आदानप्रदान रोकिएका छन् । तर यो अवस्थामा पनि अनुभव आदानप्रदानका नाममा अन्तरक्रिया भएको छ, जसलाई दुवै मुलुकका नेताहरूले यसअघि नै चीनमा हुने गरी निर्धारित कार्यशाला भौतिक रूपमा गर्न नसकिएपछि भर्चुअल माध्यम प्रयोग गरी निरन्तरता दिएको भनेका छन् । उनीहरूका अनुसार यो कार्यशाला चीन र नेपालका सत्तारूढ कम्युनिस्ट पार्टी र सरकारबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै बढ्दो आत्मीयतालाई निरन्तरता दिने पुरानो सहमतिको कार्यान्वयन पनि हो ।

तर राजनीतिक बजारमा महामारीविरुद्ध ध्यान केन्द्रित गरिरहेका बेला दुई पार्टीबीचको यो खालको आत्मीयताको निरन्तरताको व्याख्या भने अनेक कोणबाट हुन थालिसकेका छन् । समय पनि यस्तो परेको छ कि एकातिर भारतसँग चीन र नेपाल दुवैको भूमि विवादले समस्या ल्याइरहेको छ, अर्कोतिर कोभिड–१९ संकटलगायतका विषयले अमेरिका र चीनबीच वाकयुद्ध जारी छ । यही समय क्रममा नेपाल र चीनका सत्तारूढ पार्टीहरूको आत्मीयता दिगो र प्रगाढ छ ।

चीन मामिलाका जानकार नेकपाका केन्द्रीय सदस्य मिलन तुलाधरले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम भएको बताए । ‘हुन त चीन र नेपाल दुवैको भारतसँग सम्बन्ध बिग्रिरहेका बेला यस्तो कार्यक्रम गरेर झन् चिढ्याउन खोजियो भन्ने सन्देश पनि जान सक्ला,’ उनले कान्तिपुरसँग भने, ‘भवितव्यले त्यस्तो पर्न गयो । त्यो नियतले त्यस्तो गरिएको हैन जस्तो लाग्छ तर भारतले वार्ता पनि गर्न नमानिरहेका बेला चीनसँग सम्बन्ध त बनाउनैपर्छ ।’

उनले भारतसँग असहयोग भइरहेका बेला नेकपा र नेपालले चीन मात्रै नभएर युरोप, अमेरिका र अरू देशसँग सम्बन्ध र सम्पर्क राख्न सक्नुपर्ने बताए । ‘अहिले नै नेपाली सामान भारततर्फ निर्यात गर्न रोकिएको छ भन्ने कुरा आउँदै छ,’ तुलाधरले भने, ‘त्यसैले चीनसँग सम्बन्ध बिगार्ने भन्ने त कुरै छैन, भौतिक उपस्थितिमा भेट हुन नसक्ने यो अवस्थामा भर्चुअल कनेक्सन भए पनि राख्नैपर्छ ।’

गत असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुनुअघि विदेश विभाग प्रमुख सोङ ताओसहितका पदाधिकारी आएर सी विचारधारा, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), चीनको तीव्रतर विकासको कारण र मोडेलबारे प्रशिक्षण दिएका थिए । त्यसअघि नै सीपीसी र नेकपाबीच आपसी सम्बन्ध प्रगाढ बनाउने र अनुभव आदानप्रदान गर्नका लागि दुवै पार्टीले कार्यशाला आयोजना गर्ने सहमति भएको थियो ।

युद्धस्तरमा विकास गरिरहेको चीनको कम्युनिस्ट पार्टीले अन्य मुलुकसँग सामाजिक र राजनीतिक सम्बन्ध विस्तार गर्दै सीले अघि सारेको विचारधारालाई व्यापक प्रचार गर्न चाहिरहेको छ । त्यसका लागि उसले नेपाललाई पनि उपयुक्त ठाउँका रूपमा लिँदै नेकपासँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यस्वरूप नै कार्यशाला आयोजना गरेको हो । विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।