बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्या भएका व्यक्तिहरूकाे पहिचान भएकाे छ ।
साेमबार राति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो ।
घटनामा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीकाे हत्या भएकाे थियाे । करण र आशिष फार्मका कामदार होइनन् ।
घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ । प्रहरीले घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ ।
उनीहरू के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ ।















प्रतिक्रिया