
काठमाडौं, २३ जेठ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको प्रस्तावका आधारमा नै सरकारले जारी लक डाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
यो निर्णयले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्व रहेको समितिको रणनीतिका आधारमा नै लक डाउनको मोडालिटीमा परिवर्तन हुनेछ । सबैले पोखरेलको समितिले पाएको प्राधिकारले कस्तो निर्णय आउने हो भन्ने पर्खिएर बसेका छन् ।
यसअघि लक डाउन केही खुकुलो बनाउने समितिको निर्णयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका थिए । ३२ जेठसम्म लक डाउन लम्ब्याउने निर्णय हुनसाथ खुद्रा व्यापारी र सर्वसाधारणले त्यसमा चित्त बुझाएका थिएनन् ।
परिणामअनुसार राष्ट्रिय व्यापार महासंघको एकल निर्णयले राजधानीमा पसल खोल्ने निर्णयसहित विहीबारबाट चहलपहल बढेपछि मन्त्रिपरिषद बैठक बसेको थियो । मोडालिटी परिवर्तनको जिम्मा पोखरेल संयोजकत्वको समितिले तयार पारी प्रस्ताव गरे त्यसैका आधारमा नै अघि बढ्ने मन्त्रिपरिषदको निर्णय भएको थियो ।
अहिलेकै जस्तो लकडाउन जारी रहे कोरोनाभाइस सङ्क्रमणले भन्दा बेरोजगारी र अभावजस्ता समस्याले धेरैको ज्यान लिन सक्ने भन्दै लकडाउनको विकल्प खोजिनुपर्ने व्यवसायीहरूले माग गर्दै आएका छन् ।
सरकारले देशव्यापी रूपमा लकडाउन लागु गरेको १० साताभन्दा बढी भइसकेको छ । चैतको दोस्रो सातादेखि सुरु भएको लकडाउनको शैलीमा केही परिमार्जन गरिएको भए पनि यसलाई जेठ मसान्तसम्म निरन्तरता दिने विचारमा सरकार भएको बताइन्छ ।
लकडाउनको अवधिमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार विज्ञहरूसँग लकडाउनको ढाँचा परिमार्जनसहित विभिन्न विषयमा छलफल गरेका थिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेतृत्व गरेको समितिले बुधवार र बिहिवार विज्ञहरूसँग लकडाउनको विकल्पबारे छलफल गरेको थियो ।
त्यसपछि उक्त विषयमा मन्त्रिपरिषद्मा छलफल भयो तर कुनै निर्णय भएन । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले लकडाउन खुकुलो बनाउनेबारे उच्चस्तरीय समन्वयन समितिले सिफारिस गर्ने बताइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिडारीले अहिलेको अवस्थाभित्र पनि दैनिक जीवनलाई सहज बनाउने कामलाई क्रमश खुकुलो बनाउँदै लगिने बताएका छन् । उनले सबै पक्षसँग छलफल गरी उच्चस्तरीय समितिले मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने जानकारी दिए ।
कोरोनाभाइरस संक्रमणका कारण प्रभावित व्यक्ति र मृतकको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जनस्वास्थ्य संकटकाल’ घोषणा गर्न मन्त्रिपरिषद्लाई प्रस्ताव पठाउने जनाएको छ ।











प्रतिक्रिया