बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

२ लाख ७७ हजारको खालबाटै नियन्त्रणमा लिइए व्यापारीहरू, क्यासिनोको चिप्समा म्यारिज !

दैनिक नेपाल २०७७ जेठ २० गते ९:४०

काठमाडौं, २० जेठ । नेपालमा भीआईपी व्यापारी भनेर चिनिने ९ जनालाई २ लाख ७७ हजारको जुवा खालबाट प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी गरेको छ ।

सोमबार साँझ काठमाडौंको कमलादीस्थित गंगौर बुटिक होटलबाट क्यासिनोमा प्रयोग हुने क्वाइनसहित जुवा खेलीरहेका व्यापारीहरू बिमल खेतान, बिमल आहुजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र मिक्की जोगाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये मिक्की होटल सञ्चालक हुन् । उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । प्रहरीले मुद्दा चलाउनका लागि मंगलबार जिल्ला अदालत काठमाडौंसँग अनुमति माग गर्ने भएको छ ।

प्रहरी हिरासतमा राखिएका मध्ये अशोक अग्रवाल र विमल आहुजा विशाल समूहका संचालक हुन् । अशोक लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक हुन् ।

संघाई ग्रुपका सञ्चालक समेत रहेका रामचन्द्र एनआईसी एशिया बैंकका पनि सञ्चालक हुन् । पुरुषोत्तम कपडा ब्यापारी हुन् । गोविन्दराम झापाको चिया उद्योगी हुन् ।

लक डाउनका बेला होटलमा यी व्यापारीले क्यासिनोको चिप्स प्रयोग गरी महँगो मुल्यको म्यारिज खेलेको उच्च स्रोतको दाबी छ । तर ठूलो परिणामको रकम हारजित हुनेगरी भएको खेल र बरामद विविध सामग्री र नगदका आधारमा प्रहरीले उनीहरूमाथि जुवा ऐनकै मुद्दा चलाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित