शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्रीको सम्बोधन : एसईई गराउने, विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने

दैनिक नेपाल २०७७ जेठ १२ गते १७:५७

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सो क्रममा उनले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा रोकिएका कतिपय अत्यावश्यक काम पूरा गर्ने तयारी भएको जानकारी दिएका छन् ।

माध्यमिक परिक्षा (एसईई) हुनुभन्दा दुई दिनअघिदेखि लक डाउन सुरु भएको र प्रभावित भएका कारण शिक्षा तथा प्रविधि मन्त्रालयले केही दिनमा त्यसको समाधान निकाल्ने प्रधानमन्त्री ओलीले बताए । अर्थात् भर्चुअल अध्ययन चलिरहेका कारण सोही हिसाबले समस्या समाधान गर्ने तयारी भएको उनले बताए ।

यसैगरी, सामाजिक दूरी कायम राख्दै खेतीपातीका लागि व्यवस्था र सुविधाका लागि सम्बन्धित सरकारी कार्यालयले सहयोग गर्ने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।

भारतबाट नेपाल भित्रिने नागरिकले सरकारी मापदण्डअनुसार चेकजाँचमा कमजोरी गरेका कारण कोरोना भाइरसले समुदायमा प्रभाव पारेको उल्लेख गरेका उनले सुरक्षित हुनका लागि सरकारी निकायसँग समन्वय गर्न अपिल गरेका छन् ।

त्यसैगरी सामाजिक दूरी कायम राख्न र भाइरस संक्रमणमाथि बिजय पाउनका निम्ति प्रशासनिक निकायमार्फत लक डाउन वा सामाजिक दूरी कायम गर्न अझ कडा हुन सक्ने पनि प्रधानमन्त्रीले बताए ।

यस्तै, विभिन्न मुलुकमा रोजगारीका क्रममा पुगेका नेपाली नागरिकलाई उद्दार गरी स्वदेश ल्याउने तयारीमा सरकार लागेको उनले बताए । यसरी विदेशमा काम गर्ने नेपाली नागरिक स्वदेश फिर्ता गर्दा सामाजिक माया ममता र सुरक्षाको चेतनाका विषयमा ध्यान दिन पनि प्रधानमन्त्रीको अपिल छ ।

उनले निरोगी नेपाल निर्माण गर्नका लागि उपलव्ध आहारलाई स्वच्छ सन्तुलित, समयमा व्यायाम, सरसफाईमा ध्यान, पर्याप्त आराम र उच्च मनोबल कायम गर्न पनि सुझाव दिएका छन् ।

सरकारले यसलाई निरोगी नेपाल निर्माणको अभियान भनेको उल्लेख गरेका उनले जनताको रोध प्रतिरोधात्मक बढाउन निरोगात्मक अभियान चलाउने सरकारी तयारी रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित