शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रदेश मन्त्री चुमनको दबाबमा डिआईजी अर्यालले ‘हुत्याए’ इन्स्पेक्टर

सत्ता र शक्तिको अर्को महामारी : बालुवा तस्करीका ट्रयाक्टर नियन्त्रणमा लिँदा आबुखैरेनीबाट पर्वत पुराइयो

दैनिक नेपाल २०७७ जेठ ११ गते १८:०६

काठमाडौं, ११ जेठ । सत्ता र शक्तिको चरम दुरुपयोगको दबाब र सम्बन्धको आडमा गण्डकी प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) घनश्याम अर्यालले एक जना इन्स्पेक्टरलाई ५ महिनामा नै तनहुँको आबुखैरेनीबाट पर्वत जिल्ला प्रहरी कार्यालयमा हुत्याएका छन् ।

कोभिड–१९ को महामारीका बेला कुनै पनि सवारी साधनलाई चल्ने अनुमति छैन । त्यहाँमाथि रातीको समय बनाएर बालुवा तस्करीमा प्रयोग गरिएका ५ वटा ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले नियन्त्रणमा लिएका थिए ।

तस्करीमा संलग्न रहेका ट्रयाक्टरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउँदा शक्ति केन्द्रको दबाबमा डिआईजी अर्यालले इन्स्पेक्टर सुवेदीलाई सिधै जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएका हुन् ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हरि चुमनको दबाबमा अर्यालले प्रहरी कर्मको मर्मलाई कुल्चँदै मनपोली निर्णय गरेका हुन् । उच्च स्रोतका अनुसार सत्ता र शक्तिको महामारीको प्रयोगमा डिआईजी अर्यालले विवेकपूर्ण निर्णय लिनुको साटो आफ्नो कार्यकाल लम्ब्याउन इन्स्पेक्टरको कार्यकालकालको आयु नै खाइदिए ।

मुख्य कारण

पक्राउ गरिएका ट्रयाक्टरहरू

तनहुँको आँबुखैरेनीमा रहेको मस्र्याङ्गदी नदीबाट मध्यरातमा वालुवा तस्करी हुने क्रम बढेको थियो । यो उपक्रमलाई रोक्ने चुनौति लिएका थिए, इन्स्पेक्टर सुवेदीले । मध्यरात करिब १२ बजेतिर इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट गएको गस्ति टोलीले नारीघाट र मार्किचोकको मस्र्याङ्गदी नदिबाट अवैध रुपमा वालुवा झिक्दै गरेको अवस्थामा ती ट्रयाक्टरहरु नियन्त्रणमा लिएको थियो ।

उक्त स्थानमा टेण्डर आह्वान नभएको र लकडाउनको बेला मध्यरातमा अवैध रुपमा वालुवा उत्खनन् गर्नु कानुनविपरित भएपछि ग१त ४३२६, ना६त ९३५०, ग१त ५७५१, ना६त ३७७२, ना७त ११६० नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिइएका थिए ।

नियन्त्रणमा लिइएका सबै ट्रयाक्टरलाई स्थानीय सरकारको जिम्मा दिइएको थियो । स्थानीय निकायले भने पहिलो पटक समातिएको भए १२ हजार, दोस्रो पटक समातिएको भए १५ हजार र तेस्रो पटक समातिएको भए २० हजार रुपैयाँ जरिवाना गराउने गरिएको छ ।

नियन्त्रणमा लिइएका ट्रयाक्टर आन्तरिक मामला मन्त्री चुमनका छोरासहित स्थानीय नेकपाका ठेकेदार र कार्यकर्ताको भएको बुझिएको छ । उनीहरूको दबाबका आधारमा नै इन्स्पेक्टर सुवेदीको सरुवा गर्न सुमनले डिआईजी अर्याललाई दबाब दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित