बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

नेपाल र नेपालीप्रति आक्रामक भएका भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा दर्ता

दैनिक नेपाल २०७७ जेठ ११ गते १८:०९

काठमाडौँ, ११ जेठ । नेपाल र नेपालीप्रति आक्रामक भइ अफवाह फैल्याइरहेका भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा प्रहरीले मुद्दा चलाउने भएको छ ।

मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेबापत अदालतले गोस्वामीविरुद्ध स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो ।

मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको गोस्वामीको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो ।

उनको अपील अदालतले खारेज गरेसँगै महाराष्ट्र प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न आदेश पाएको हो ।

गोस्वामीले मुम्बईका लाखौँ सुकुम्बासीविरुद्ध गाली तथा अपशब्द प्रयोग गरेकाले प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनले आफ्नो बचाउका लागि दिल्लीस्थित सर्वाेच्च अदालतमा अपील गरेका थिए । अदालतले भिडियो कन्फेरेन्समार्फत उनको अपील खारेज गरेको हो ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो ।

उनले केही समय अगाडी भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीविरुद्ध पनि विना प्रमाण विभिन्न घटना मुछेका थिए । उनीविरुद्ध अलग अलग ठाउँबाबट १४ वटा उजुरी परेका छन् । ति सबैलाई एउटै प्याकेजमा हेर्न पनि अदालतले आदेश दिएको छ ।

रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उक्त टेलिभिजनका उनी मालिक र प्रधान सम्पादक समेत हुन् । त्यसैले उनले काँग्रेस आई र मुसलमानहरुविरुद्ध कटाक्ष गर्दै आएका छन् ।

गोस्वामी तिनै पत्रकार हुन् जसले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भनेर ठाडो आरोप लगाएका थिए । गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्सा, कालिपानी र लिम्पियाधुराका विषयमा काँग्रेस नेता डा. मिनेन्द्र रिजालसँग समेत चर्काचर्की भएको थियो ।

जसमा गोस्वामीले चीनको विरुद्ध नेपालका नेतालाई उभिन दवाव दिइरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित