शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

वीरगन्जमा कोरोनाबाट ९ जना निकाे

दैनिक नेपाल २०७७ जेठ ११ गते ७:४६

वीरगन्ज, ११ जेठ । वीरगन्जको नारायणी अस्पतालको आइसुलेशनबाट कोरोना मुक्त भएर ९ जना डिस्चार्ज भएका छन् ।

कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भई भर्ना भएका मध्ये शनिबार एक जना भारतीय नागरिक सहित नौ जना उपचार पछि घर फर्केका हुन् ।

उनीहरूको उपचार सफल भई पूर्णरुपमा संक्रमण मुक्त भएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायले बताए। लागातार २ पटकको परीक्षणमा कोरोना संक्रमण नभएको अर्थात नेगेटिभ देखिएकाहरुलाई शनिबार अस्पतालले बिदा गरेको हो ।

देशकै सबभन्दा बढी कोरोना संक्रमित जिल्ला बन्न पुगेको पर्सामा शनिबार ९ जना डिस्चार्ज भएर सकुशल घर फर्केको खबरले सकारात्मक सन्देश संचार गरेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए ।

डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, रौतहटका ३ जना र एक जना भारतीय नागरिक रहेको डा. उपाध्यायले जानकारी दिए ।

डिस्चार्ज भएकाहरूलाई आफन्तको जिम्मा लगाईएको छ । कोरोनासंग जितको खुसीमा सबैजनालाई आफन्तले फूलका गुच्छा र माला लगाएर स्वागत गरेका थिए ।

वैशाख १४ गते देखि २१ ग्ते भित्र कोरोना संक्रमित देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएका नौजना डिस्चार्ज भएका हुन् ।

चिकित्सकहरूका अनुसार कोरोना संक्रमण पोजेटिभ देखिए पनि उनीहरुको स्वास्थ्य अवस्था समान्य रहँदै आएको थियो। कुनै प्रकारको लक्षण देखिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित