शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपालको गुप्तचर निकायलाई फोन ट्यापिङको अधिकार : माथिल्लो सदनमा पारित, तल्लोमा बाँकी

दैनिक नेपाल २०७७ जेठ ७ गते १५:४२

काठमाडौं, ७ जेठ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई व्यक्तिका फोन ट्यापिङको अधिकार माथिल्लो सदन (राष्ट्रिय सभा)ले दिएको छ ।

‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा बुधबार बहुमतले पारित भएको छ । अब, उक्त विधेयक तल्लो सदन (प्रतिनिधि) सभाले पारित गरे विभागले प्रतिगुप्तचरीका लागि फोन, कल ट्यापिङको विशेष अधिकार पाउनेछ ।

यस विषयमा दलीय विचार फरक फरक रहेको र विवाद समेत रहेका कारण तल्लो सदनमा विधेयक पारित हुन्छ या हुँदैन भन्ने विषय हेर्न बाँकी छ ।

राष्ट्रिय अनुसन्धान विभागभित्र छुट्टै प्रतिगुप्तचरी संयन्त्र निर्माणको उद्देश्यले सरकारले यो विधेयक ल्याएको हो । विभाग अहिले प्रधानमन्त्री कार्यालयको माथाहतमा रहेको छ । प्रतिगुप्तचरी विभाग गठन भएको खण्डमा अन्तर्राष्ट्रिय खतराका सम्बन्धमा पनि सरकारले जानकारी पाउन सहज हुनेछ ।

धेरै देशमा फोन ट्यापिङको व्यवस्था भएको र नेपालको हकमा पनि व्यक्तिगत गोपनीयता सुरक्षित राख्ने गरी सूचना संकलनसम्बन्धी विशेष व्यवस्थामा टेलिफोन ट्यापिङको अधिकार दिने व्यवस्थालाई स्वीकृति प्रदान गरिएको हो ।

मुलुक र जनताको सुरक्षाका निम्ति ल्याएको भनिएको यो विधेयक प्रतिनिधि सभामा पनि लगभग पास हुने निश्चित जस्तै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘मुलुक र जनताको सुरक्षाका लागि आवश्यक व्यवस्थालाई समेटेर विधेयक ल्याइएको’ भनिन् ।

तर कतिपयले भने यस्तो अधिकार पाएको खण्डमा उक्त विभागले व्यक्तिगत नाफा र हानिका हिसाबमा काम गर्न सक्ने भएकाले विचार गर्नुपर्ने बताएका छन् । यसले व्यक्तिको गोपनियता सम्बन्धी अधिकारलाई समेत हानि गर्न सक्ने धेरैको विश्लेषण छ ।

प्रतिक्रिया
सम्बन्धित