बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पति ‘हत्या’को अभियोग : १० बर्षअघिको प्रेम सिध्याउन नयाँ प्रेमीसँग डेढ महिने योजना !

दैनिक नेपाल २०७७ जेठ ६ गते १०:३७

काठमाडौं, ६ जेठ । विराटनगर–१० मा औषधिको डिलर राखेका सुनसरी इटहरी–१२ खनारका ३३ बर्षिय देवीप्रसाद दुलालको हत्याका लागि पत्नी मीना श्रेष्ठ दुलाले डेढ महिनादेखि योजना गरेको प्रहरी अनुसन्धानको दाबी छ ।

एक दशक अघि देवीप्रसादसँग प्रेम विवाह गरेकी मिनाले आफ्ना दोस्रा प्रेमी ब्रम्हदेव साहसँगको सम्बन्ध टिकाउनका निम्ति डेढ महिनाको योजनामा पति हत्यालाई पूर्णता दिन सकेको अनुसन्धानमा खुलेको मोरङ प्रहरीको दाबी छ । यहि अनुसन्धान प्रतिवेदन र प्रमाणसहित प्रहरीले कर्तव्य ज्यान मुद्दामा मीनासहित अन्य दुई जनालाई मुद्दा हाल्नेछ ।

‘यो हत्याका लागि डेढ महिनादेखि योजना बनाएको अनुसन्धानले खुलाएको छ । यसका अनेक प्रमाण र बयान हामीले प्राप्त गरेका छौं’, प्रहरी स्रोतको दाबी छ,‘यसै आधारमा नै प्रहरीले मुद्दा दायर गर्दैछ ।’

३३ बर्षिया मीना र उनीभन्दा १२ बर्ष कान्छा प्रेमी सिरहाको लहान–११ का २१ बर्षिय साहको यो योजनालाई सफल बनाउनका निम्ति अर्का व्यक्तिको पनि सहयोग लिइएको थियो । ति हुन् नातामा ब्रम्हदेवको भाई पर्ने सोनु साह ।

अनुसन्धानले ब्रम्हदेव र सोनुको नजर मीनाको प्रेममा मात्र नभएर देवीप्रसादको व्यापारमा समेत रहेकोतिर संकेत गरेको छ । प्रहरीले यस प्रकरणका अन्य प्रमाण र कारणबारे अनुसन्धानलाई टुंगोमा पुराइसकेको छैन ।

मृतक दुलालले विराटनगर–१० मा घर भाडामा लिँदै देवी माँ पाथीभरा फर्मा औषधि डिलर सञ्चालन गरेका थिए । त्यही डिलरमा चार वर्षदेखि काम गर्थे हत्यामा संलग्न भनिएका साह । त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको चाल पाएपछि पाँच महिना अघि दुलालले उनलाई कामबाट निकालिदिएका थिए ।

कामबाट निकालिदिए पनि मीनासँगको उनको सम्पर्क निरन्तर रहेको अनुसन्धानका क्रममा खुलेको छ । दुलालले पत्नी कामदारसँग नै प्रेममा रहेको चाल पाएपछि घरझगडा बढेको थियो ।

यसरी भयो हत्या

हत्या भएको रात देवीसहित उनका केही साथीसँग अबेरसम्म मदिरा सेवनको काम गराउने भूमिकामा मीनाको सक्रियता अनुसन्धानले खुलायो । मदिराले मातेपछि हत्या गर्न सजिलो हुन्छ भन्ने कुरा बुझेरै रातको समयमा मीनाले प्रेमी साहलाई मोबाईलमा फोन गरेर घर बोलाएको, मोटरसाईकल चढेर सोनु साहसहित आएका ब्रम्महदेवलाई ढोका खोलिदिएकी थिइन् ।

श्रीमान् मज्जाले निदाई नसकेको जनाउँदै घरको छततर्फ केही बेर बस्न लगाएकी उनले श्रीमान् निदाएपछि इसाराले ब्रम्महदेवलाई बोलाएकी थिइन् ।

ब्रम्महदेवले श्रीमान् देवीप्रसाद निदाएको कोठा प्रवेश गर्नसाथ प्लाष्टिकको डोरीले घाँटी थिचेका थिए । देवीप्रसाद ब्युँझिएर प्रतिकारमा उत्रिएका थिए । सो क्रममा डोरी चुट्टीएको थियो । मीनाले अर्को डोरी दिने शरिर थिच्ने काम गरेकी थिइन् । ब्रम्महदेवसंगै आएका सोनुले देवीप्रसादको खुट्टा थिच्ने काम गरेको विवरण प्रहरीले पाइसकेको छ ।

प्रतिकारकै क्रममा उनको घाँटीमा लगाएको सुनको सिक्री दुई टुक्रा हुनुले पनि सो कुराको पुष्टि गरेको प्रहरीको भनाई छ । आवाज निस्कने डरले देवीप्रसादको मुखमा कपडाले थुनेको पनि बताइएको छ ।

सानै उमेरबाट एउटै गाँउमा हुर्किएका सँगै पढेका र पेपर म्यारिज गरि डेनमार्कसम्म पुगेर दुःख गरेका देवीप्रसाद र मीनाले उत्तै प्रेम विवाह गरेका थिए । डेनमार्कबाट आएपछि विराटनगरमा औषधी व्यवसाय थालेका उनीहरुले व्यापारको लोडकम गर्न सल्लाहामै ब्रम्महदेवलाई ४ बर्षअघि कर्मचारीका रुपमा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित