बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लिपुलेक सडक प्रकरणमा भारतीय सैनिक प्रमुखले टिप्पणी गर्नुको अर्थ

दैनिक नेपाल २०७७ जेठ ३ गते ११:०४

काठमाडौं, ३ जेठ । भारतीय सैनिक प्रमुख मनोज नरभानेले लिपुलेक क्षेत्रमा निर्माण गरेको सडकबारे नेपालले आपत्ति जनाउनका निम्ति चीनले उचालेको हुन सक्ने सांकेतिक टिप्पणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीनको मानसरोबरसम्म जोड्ने सडक एकतर्फी रुपमा भारतले निर्माण गरेपछि काठमाडौंमा यसको तिव्र विरोधसँगै भारतीय हस्तक्षेप भएको भनी प्रदर्शन नै भयो । यस प्रकरणका विषयमा भएको एउटा छलफलमा सैनिक प्रमुख नरभानेले चीनतिर संकेत गर्दै नेपाली पक्षलाई उचालेको र परराष्ट्र मन्त्रालयको कडा विज्ञप्ति आएको पनि बताएका थिए ।

सैनिक प्रमुख नरभानेको यो टिप्पणीलाई जोडबल दिँदै भारतका कतिपय वैचारिक अखबारले पनि चीनलाई दोष दिएका छन् । द प्रिन्टका सम्पादकले एक विश्लेषणका क्रममा सीमा विवादको विषय बताएका छन् । उक्त सडक निर्माणको विषयलाई उठान गर्दै उनले भनेका छन्,‘सडक निर्माण भएको क्षेत्र नेपालको छँदै थिएन, होइन ।’

तर भारतीय सेना प्रमुखको विवादास्पद टिप्पणीले निक्कै ठूलो अर्थ राख्दछ । नेपाली पक्षले, खासगरी प्रमुख राजनीतिक दलका नेताले उक्त सडक निर्माणको विषयमा भारत र चीनको आपसी समझदारी रहेका कारण दुवै पक्षसँग वार्ता गर्नुपर्ने बताइरहेका छन् ।

द प्रिन्टका सम्पादकले भने नेपाली सर्वसाधारण र खासगरी कम्युनिस्ट पार्टीका कार्यकर्तालाई चिनियाँ पक्षले उचालेको र अहिले चीनको प्रभाव नेपालमा बढेको विश्लेषण पनि गरेका छन् ।

कतिपय भारतीय अधिकारीले हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिला भारतप्रति झुकाव राख्ने तर पहिलो पल्ट प्रधानमन्त्री भएयता चीनसँग अधिक नजिक रहेका कारण सडक प्रकरणमा नेपाल सरकारको विज्ञप्ति भारतलाई चुनौति दिने हिसाबले आएको विश्लेषण गरेका छन् ।

यद्यपि, उक्त सडक निर्माणको प्रक्रिया आजको नभई तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह सरकारको पालाकै रहेको पनि तथ्य अगाडि आएको छ । सिंहको पालामा उक्त सडक ट्रयाक खोल्नका लागि ८० करोड भारु विनियोजन भएको तर काम हुन नसकेको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशासन चलाएपछि मन्त्री नीतिन गडकरीमार्फत उक्त सडक खोल्नका लागि ४ सय ४० करोड भारु छुट्याइएको थियो । सडक निर्माणकै लागि भनेर भारतीय सेनाका अति प्रभावकारी हेलिकोप्टरमार्फत चट्टान फोर्ने सामग्री र साधनलाई लगेर सडक निर्माण गरिएको दाबी मात्र गरिएको छैन, उक्त सडकको विषयमा भारत पछाडि नहट्ने पनि दाबी गरिएको छ ।

यसैको पृष्ठभूमीमा आएको भारतीय सैनिक प्रमुख नरभानेको अभिव्यक्तिलाई पनि बुझिएको छ । नेपाल–भारत सम्बन्धमा यो सडक विवाद निक्कै पेचिलो बन्न सक्ने भारतीय ‘थिङ्क ट्याङ्क’ले त्यहाँको सरकारलाई राय बुझाई सकेको विवरणहरूमा उल्लेख छन् ।

प्रतिक्रिया
सम्बन्धित