काठमाडौं, २९ वैशाख । कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरुद्धमा मुलुक नै आन्दोलित भइरहेको बेला हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गरिरहेको शिव सेना नेपालले धारणा सार्वजनिक गरेको छ ।
शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले एक वक्तव्य जारी गरी पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत गरिएको सीमालाई प्रजातन्त्रको नाममा शत्रुसामु राजनीतिक दल र तिनका नेताले लम्पसार पारेको आशय व्यक्त गरेका छन् ।
अहिलेको व्यवस्थाप्रति नै रुष्ट शिव सेना नेपालका तर्फबाट बस्नेतले जारी गरेको वक्तव्यमा भनिएको छ,‘हामी जनताको प्रतिनिधि भनेर सम्बोधन गर्छौं, दुःखका साथ भन्नुपर्छ, उनीहरु बैरीहरुका प्रतिनिधि रहेछन् । नेपाल आमाको अस्मिता लुट्ने र नेपाली जनतालाई खुनको आँशु रुवाउने कुपात्रहरु रहेछन् ।’
भाषा, धर्म र संस्कृतिलाई गणतन्त्रका नाममा लिलाम गरेका राजनीतिक दलले आज देशको सीमा नै बेचेको उल्लेख गर्दै कडा भाषामा बस्नेत अगाडि थप्छन्,‘अब यी दलालहरुको हिसाब गर्ने बेला आएको छ । यो हिसाबकिताबमा शिव सेना नेपाल सदा सर्वदा जनताको पक्षमा उभिन तयार छ ।’
राजनीति गर्न विदेशीसँग बिक्री भएर दलालको उपाधी लिएर बाँच्नु भन्दा स्वाभिमानी, स्वदेशी, स्वतन्त्र नेपाली भएर मर्नु बेस भएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ,‘नेता पाल्ने पैसाले सेना पालौं, सीमाको रक्षा गरौं ।’
अब देश बेचुवाहरुको पक्षमा होइन, न्यायको पक्षमा, नेपाली जनता उभिनु पर्ने बेला भएको उल्लेख गरेको वक्तव्यमा भनिएको छ,‘नेपाली युवा अब विदेशीको सीमा रक्षाका लागि होइन, देशको रक्षाका लागि उभिनु पर्ने बेला भएको छ । अब नेपाली सेनाको नेत्तृत्वमा यो देशका भाइरसहरुलाई विदा गर्ने बेला भएको छ ।’
आफ्नी पत्नी, छोरी, प्रेमिका, बुहारी, साला सालीलाई सरकारी पद बाँडेर राज्यस्रोतमा ब्रम्हलुट गर्ने कार्य राजाबाट यो देशमा कदापी नभएको उल्लेख गरिएको वक्तव्यमा जोडिएको छ,‘यो काम त तिनै परजीवीबाट भयो, जसले १० वर्ष ‘जनयुद्ध’ नामक विध्वंशबाट जनताको रगत चुस्यो, अहिले उनीहरुका सन्तान दरसन्तानले राज्यको ढुकुटी चुसिरहेका छन् । यी परजीवीबाट अब देशले स्वतन्त्रता चाहेको छ ।’















प्रतिक्रिया