काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक अनिश्चित बनेपछि सतहमा आएका अनेक प्रकारका टिप्पणीलाई विहीबार एक तहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईले साम्य पारेको छ ।
प्रतिनिधि सभाको अवलोकन र स्वास्थ्य जाँचपछि प्रचण्डले दिएको संक्षिप्त प्रतिक्रिया थियो– स्थायी समिति बैठक दुई तीन दिनमा बस्छ, दुई अध्यक्ष बसेर हामी यसको टुंगो लगाउनेछौं ।
दोस्रो र तेस्रो तहका नेताले तत्काल कुनै पनि अध्यक्षको राजीनामा माग्नु बाञ्छनीय नहुने र महाधिवेशनसम्म सहमतिमा नै अगाडि जानुपर्ने सार्वजनिक धारणा दिएका बेला प्रचण्ड पनि सोही मतमा सहमत भएर अघि बढ्ने लयमा उभिएका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग उनले गर्ने छलफलका क्रममा पार्टीका सबै बैठक सञ्चालन सम्बन्धी जिम्मेवारी आफूलाई दिनुपर्ने सहमतिको विन्दुमा पुग्ने आँकलन गरिएको छ । यस्तै स्थायी समितिको बैठकमा महाधिवेशन तोकिएको समयमा गर्ने र त्यसबेलासम्म सामूहिक नेतृत्व भए पनि पार्टीका काममा प्रचण्ड सक्रिय हुने सहमति बन्न सक्नेछ ।
यसअघि सचिवालयको बैठकले गरेको निर्णय जस्तै पार्टीका हरेक बैठक मुख्यालय धुम्बाराहीमा बस्ने, प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक परामर्श र सरकारका कामबाहेकका बैठक नबस्ने विन्दुमा सहमति हुन सक्ने विश्लेषण गरिएको छ ।
सरकारका काम कारबाहीमा भएका कमजोरीलाई सुधार गर्दै लैजाने र अन्य तहका नेताले नेतृत्वविरुद्ध कुनै पनि टिका टिप्पणी नगर्ने, एकता बलियो बनाउने लगायतका विषयमा स्थायी समितिको बैठककै निर्णय तल्लो तहसम्म सर्कुलर गर्नेगरी सहमति बन्ने अनुमान गरिएको छ ।
दुई अध्यक्षको परामर्शपछि सचिवालय बस्ने र सोही सचिवालयले बजेट अधिवेशन सकिएपछि स्थायी समितिको बैठक राख्ने निर्णय गर्नेछ । यसले तत्काल नेकपामा देखिएको विवाद र असमझदारी हल हुने कतिपयको विश्वास छ । सचिवालयले यसअघि गरेका धेरैजसो निर्णयलाई स्थायी समितिमा अनुमोदन गराउने सहमतिको प्रयत्नमा पनि नेतृत्व लाग्ने बताइन्छ । यीनै सहमतिका साझा विन्दुमा उभिएर नै प्रचण्डले समस्या समाधान हुन्छ भनी दिएको अभिव्यक्तिको अर्थमा बुझिएको छ ।















प्रतिक्रिया