
काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीमा फेरि देखिएको पदीय जिम्मेवारीबारेको खटपटले भोलीका लागि तय भएको स्थायी समितिको बैठक सर्न सक्ने अनुमान गरिएको छ ।
नेकपामा एक व्यक्ति एक पदको धारणा अघि आएपछि स्थायी समितिको बैठकका एजेन्डामा नै असहमति हुन सक्ने आँकलन गरिएको छ । बुधबार हुने सचिवालयको बैठकले एजेन्डाबारे निक्र्यौल गरेपछि विहीबारका लागि स्थायी समिति बोलाउने निर्णय भएको थियो ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तत्कालै एक व्यक्ति एक पदको एजेन्डामा असहमत छन् । उनी पक्षधर नेताले पनि प्रधानमन्त्रीसहितको जिम्मेवारीको विषय एजेन्डा बन्न नहुने सुझाव दिँदै आएका छन् । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता भने एक व्यक्ति एक पदको अवधारणामा नेकपा जानुपर्ने बताउँदै आएका छन् ।
‘सहमतिका आधारमा नेतृत्व गर्ने विषयलाई महाधिवेशनसम्म लैजाने भनेका कारण तत्काल प्रधानमन्त्री ओलीले अध्यक्षको जिम्मेवारी छाड्ने कुरा सम्भव हुँदैन । तर जिम्मेवारीताका हिसाबमा प्रचण्डलाई पार्टीको जिम्मेवारी धेरै दिने कुरामा सहमति हुन सक्छ’, ओलीनिकट एक नेता भन्छन्,‘त्यसैले सहमतिय आधारमा नै अघि बढ्दा कसैको पनि अडानले काम गर्नुहुँदैन भन्ने मतान्तर रहनेछ ।’
यी सबै विषयमा सचिवालयमा छलफल हुने र त्यसले एउटा निचोड निकाल्ने बताइएको छ । तर सचिवालयमा नै सहमति नभएको खण्डमा स्थायी समिति बैठक सर्न सक्ने नेताहरू बताउँछन् ।















प्रतिक्रिया