
काठमाडौं, १६ वैशाख । महानगरीय प्रहरी परिसरले अपहरणको उजुरी दर्ता गर्न नमानेपछि प्रतिपक्षी दलका नेता दलबलसहित सरकारी वकिलको कार्यालयमा मंगलबार पुगेका छन् ।
महोत्तरीको घटना भएकाले सोही ठाउँको प्रहरीमा उजुरी दर्ता गर्न राय पाएको दलले प्रहरीलाई उजुरी दर्ता गर्नका लागि कानुनी बाटो सरकारी वकिलको कार्यालय रहने ठहर गरेको छ । सोही हिसाबमा उसको प्रयत्न रह्यो ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरी दल फुटाउने खेल भएको भन्ने उनीहरुको दाबी थियो । खासमा सांसद यादव खुशीसाथ पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठसँग राजधानी आएका थिए । सोही विषयलाई अपहरण भनी राजनीति गरिएको पीडक भनिएकाहरुको टिप्पणी छ । तीनै जनाविरुद्ध किटानी जाहेरी लिनुपर्ने यादव पक्षधर नेताहरुको भनाई छ ।
तर घटना भएका केही दिनसम्म पनि सांसद यादवले आफूलाई अपहरण गरिएको कतै बताएनन् । बरु, उनले अपहरणको हल्ला बेकार भएको बताउँदै आफू राजीखुसी आएको बताएका थिए । तर, आइतबारदेखि उनी आफ्नो भनाईबाट युटर्न भएका छन् ।
काठमाडौं आएपछि पनि सांसद यादवले आफूलाई अपहरण गरेको भन्ने कतै उल्लेख गरेका थिएनन् । मिडियाको सम्पर्कमा पनि उनले अपहरण भएको भन्ने उल्लेख गरेका थिएनन् । तर प्रस्तावित जनता समाजवादीका शीर्ष तहका नेताले नै अपहरण भनी कानुनी प्रक्रिया थाल्न दबाबमा पारेपछि केही मिडियामा नाटकीय रुपमा सांसद यादव धुरुधुरु रोएका थिए ।
‘यो अपहरण राजनीतिको अर्थ सरकारका कमजोरी केलाउँदै, त्यसमा प्रशासनिक रुपमा पनि सरकारको दबाब रहेको देखाउन यो प्रायोजित काम गरियो’, नेकपा नेताहरू भन्छन्,‘अध्यादेश प्रकरणमा खिल्लि उडाउन नपाएपछि यो अपहरण राजनीतिमा जनता समाजवादीका नेता लागेका छन् । यसको प्रायोजन विश्वदिप पाण्डेहरूले गरेका हुन् ।’
सांसद यादव प्रकरणमा जाहेरी लिएर कारबाही अगाडि बढाए पनि नबढाए पनि जनता समाजवादीको राजनीति हावी हुने बुझिन्छ । सरकारलाई जसरी पनि घुँडा टेकाउने, उसको कमजोरी देखाउने रणनीतिका आधारमा अपहरण राजनीतिको अर्थ लुकेको राजनीतिक विश्लेषकहरू बताउँछन् । यसमा कानुनका कमजोर र घुमाउरो व्याख्या गराउनका लागि प्रतिपक्षी दल समर्थित कानुनकर्मीको सहयोग रहनु एउटा उदाहरण भएको पनि दाबी गरिन्छ ।
नेपाली कांग्रेसको समर्थन गर्ने दिनेश त्रिपाठीलगायतका कानुनकर्मी सरकारविरुद्ध कसरी प्रोपोगान्डा गर्ने भनेर यो प्रकरणमा अगाडि देखिनु यसको उदाहरण भएको नेताहरू बताउँछन् । ‘यसमा कस्ता कानुन आकर्षित हुन्छन्, कुन मनसाय र कपट लुकेको छ भन्ने विषय प्रष्ट नै हुन्छ’, अधिवक्ता एवम् युवा संघसँग नजिक रहेका विपिन ढकाल भन्छन्,‘राजनीतिक पूर्वाग्रहका आधारमा घटना बंग्याउने खेलको परिणाम होइन कसैले भन्छ र ?’
त्यसो त समाजवादी पार्टीका सांसद प्रदिप यादवले नै अपहरण नभएको र मन्त्री हुने अवस्था नभएपछि सेफ ल्यान्डिङका लागि डा. यादवको नाटकीय बयान बाहिर आउन थालेको बताएका थिए । उनले त राजनीतिमा यस्तो नाटक नगर्न सुझाव पनि दिएका थिए ।















प्रतिक्रिया