शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

त्यो पुलिसले हिँड्न दिएन !

विनोद ढकाल २०७६ चैत २४ गते ९:२०

-विनोद ढकाल

महामारीले राजा, महाराजा, डन, सेठ, प्रधानमन्त्री केही भन्दैन । घुसखोर ठेकेदार, ताकतको नजिक रहेका अहंकारी व्यक्ति, शक्तिको दुरुपयोग गर्ने शक्तिखोरी नभन्दो हो । यसले त इमान्दार र कर्तव्यनिष्ठ, विचरण गरी सुरक्षा अपनाउनेलाई पो बरु सम्मान गर्दो हो । तैपनि यस्ता कयन उदाहरण बजारीकरण हुन थालेका छन् जसको प्रभाव र आक्रान्त शैलीका शिकार ठूला भन्दा ठूला र ठालू भन्दा ठालू भइसकेका छन् । असावधानी भन्ने चिज सबैभन्दा ठूलो खतराको घण्टी हो भन्ने विषयलाई नजरअन्दाज गरी हामी दम्भमा कुदिरहेका छौं ।

धेरैका धेरै कुरा बितेका छन् । आकस्मिक समस्याका थुप्रो लागेका छन् । यी थुप्राको टाकुरामा उभिएर रुने दिन आउन सक्लान् तर रुनका लागि भाव, शरिर, स्वास्थ्य र आँसु त हुनपर्छ होला । आश्चर्य र अचम्मको कुरा जस्तो लाग्ने यो भयावहको साधारण उपाय र सुरक्षाका लागि खटिएका हाम्रा प्रहरीका कतिपय अधिकारी, कर्मचारीको भावमाथि हामी कति गम्भिर छौं भन्ने विषय अहिलेको अहम् प्रश्न हो ।

कुनै शताब्दिमा विश्वभर नेतृत्व गरेको, शासन गरेको बेलायत, हाल विश्व महाशक्ति रहेको अमेरिकालगायत युरोपका मुलुक पनि यो भाइरसको प्रभावका कारण आक्रान्त बनेका छन् । दशौं हजार मानिसको मृत्यु भइसकेको छ, प्रहरी सरकारको कुरा नमान्दा । अमेरिकामा लाख भन्दा बढी मानिस जोखिमको घेराबन्दीमा छन् । इमान्दार र नैतिकवान जनता भएका मुलुकको यो आहत रहेको अवस्था छ ।

यहाँसम्मकी बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन त कोरोनाका कारण अस्पताल ने भर्ना भएका छन् ।

अहिलेको महामारीको अवस्थामा विश्वका यस्ता कयन उदाहरण छन् । इटाली, स्पेनमा जनताले सडकमा पैसा फालिदिए । जहाँ उपचारका लागि पैसाको महत्व ने छैन, पेसाले जीन्दगी कमाउन नसकिने रहेछ भन्ने ठानेपछि यस्तो अवस्था आइपरेको दृष्टान्त प्रष्ट छ ।

अब यहि महामारीबीच हाम्रो सामाजिक परिवेशमा प्रवेश गरौं ।

चीनबाट सुरु भएको भनिए पनि कोरोनाको प्रभाव युरोप अमेरिका भारतपछि नेपालमा देखियो । धिमि गतिमा बढिरहेको छ । सरकारले सुरक्षाका निम्ति लक डाउनको घोषणा गरिदियो । लक डाउन एक हिसाबले सफ्ट कफ्र्यु भन्दा हुन्छ । यसमा गोली चल्दैन, सरकारले नागरिकसँग सुरक्षा गरी बस्नका लागि गरिएको अपिल हो । प्रशासनिक संयन्त्रलाई सुरक्षित हिसाबले परिचालन गरी नागरिकको सुरक्षाका निम्ति सरकारले लिएको साधारण कफ्र्यु नै लक डाउन हो । यसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको नामचाहिँ जनता कफ्र्यु हो ।

जरुरी, अत्यावश्यक कामबाहेक जनता घरबाट बाहिर ननिस्किएको राम्रो हो । कारण कोरोना भाइरसले व्यक्ति चुनेर प्रवेश गर्ने होइन । यो खतरनाक सरुवा रोग भएको र आक्रमण चाँडै गर्ने भएकाले यस्तो घोषणा बाध्यात्मक अवस्था हो । यसले कोरोना आइडेन्टिफाई गरी उपचार गर्नका निम्ति सरकारलाई सहज हुन सक्ने अवस्था पनि निर्धारण गरिदिन्छ । एक बाट अर्कोमा सर्न नपाउने भएकाले नियन्त्रणमा लिन सकिने उपाय पनि हो ।

तर हाम्रो नियती दुईवटा प्रमुख कारणले गैरजिम्मेवार देखिन्छ ।

यो भयावह अवस्थामा परिवारका सदस्यसँग गफ गर्न, स्वास्थ्यका बारेमा बुझ्न नपाएको सिपाहीको मनभित्र, उसको जागिर र कर्तव्य पालना गर्दागर्दै भक्कानिएको भावभित्र, आवेगले चुर चुर भएको संवेगभित्र पसेर एक पटक सोचौं त, जसले हामीलाई हाम्रा सुरक्षाका निम्ति घर बाहिर नहिँड्नुस् भनिरहेको छ उसका कर्तव्य र सुरक्षाका निम्ति हामी कति गम्भिर भायौं ?

पहिलो, लक डाउनलाई हामी शक्ति देखाउने खेलमा लागेका छौं । यो कुनै पार्टीले गरेको बन्द वा चुनावी मतदानको बेला होइन । यो होलिडे होइन, घुम्ने हिँड्ने अवसरको विदा पनि होइन । नेपाली महाशयहरुलाई लाग्छ, यो विदा हो । यो निकृष्ट सोचको उपजले गैरजिम्मेवारीता र रोगलाई विस्तार हुन सहयोग गर्नेछ । सचेत नहुँदा सरकारले प्रहरी परिचालन गरी जनतालाई घर घर बस्न अनुरोध, आग्रह गरेको छ । त्यो नमान्दा यदाकदा पक्राउ र लाठीचार्ज गरेको छ ।

दोस्रो तथा अन्तिमचाहिँ हामी शक्तिशाली बन्ने होडमा छौं । सडकमा हाम्रै सुरक्षाका लागि विदा समेत नपाएको प्रहरी कर्मचारीलाई छल्ने तिनलाई दबाबमा राख्ने वा तिनको आलोचना गर्ने काममा सक्रिय छौं । यो सर्वथा गलत हो । सरकार, वा विशव समुदाय यो महामारीमा मानवताका निम्ति लक डाउनमा बस्न वा स्वास्थ्यका हिसाबले घरमा बसेर भाइरसलाई प्रतिरोध क्षमतासँग कमजोर बनाउन अपिल गरिरहेका छन् । हामीचाहिँ हाम्रा सुरक्षाका निम्ति खटिएका प्रहरीको भावलाई अजरअन्दाज गरिरहेका छौं ।

तीन सातासम्म परिवारका सदस्यसँग भए पनि बाहिर निस्कने, घुम्ने र रमाउने रहर छ । त्यसक्रममा यसो नगर्नका लागि सरकारी अपिललाई भन्दा प्रहरी हाम्रो साथी होइन भन्ने भ्रमको खेती पनि गरिरहेका छौं । यदाकदा भएका पनिसमेन्टका दृश्य र तस्बिरमा आम प्रहरीमाथि सिधा धारणा बनाएर नकारात्मक प्रचार गरिन्छ । यो, सर्वथा गलत हो । प्रहरीमा केही अवयव हुन सक्लान् त्यसका आधारमा मर्मविपरितका व्याख्या र दुश्प्रचार दुखदायी हुन जानेछ ।

यो भयावह अवस्थामा परिवारका सदस्यसँग गफ गर्न, स्वास्थ्यका बारेमा बुझ्न नपाएको सिपाहीको मनभित्र, उसको जागिर र कर्तव्य पालना गर्दागर्दै भक्कानिएको भावभित्र, आवेगले चुर चुर भएको संवेगभित्र पसेर एक पटक सोचौं त, जसले हामीलाई हाम्रा सुरक्षाका निम्ति घर बाहिर नहिँड्नुस् भनिरहेको छ उसका कर्तव्य र सुरक्षाका निम्ति हामी कति गम्भिर भायौं ? लक डाउनलाई होलिडे जस्तो मानिरहेका हामी फगत कसैसँग फोनमा, फेसबुकमा भनिरहेका छौं त्यो पुलिसले हिँड्न दिएन ।

बाध्यतामा घर फर्किएकालाई सीमामा रोकेर क्वारेनटाइनमा हाल्ने, लुकेर महामारी संक्रमितसँग यात्रा गरी आउनेलाई खोजी गरी अस्पतालमा पुराउने, संकटमा र समस्यामा रहेका व्यक्तिको उद्दार गरी सम्बन्धित ठाउँसम्म पुराउनेकाममा प्रहरी कर्मचारी सक्रिय छन् । यहाँसम्मकी लक डाउनका बेला भोकै रहेका सडकमा बस्ने मान्छेदेखि अनेकलाई राहत संकलन गरी वितरण गर्नेमा पनि प्रहरीकै सक्रियता देखिएको छ ।

केन्द्र बाहेक जिल्ला जिल्लामा प्रहरीका निम्ति यस्तो जोखिममा न सवारीको सुविधा छ न खाने पिउने समयको हेक्का र ख्याल, तैपनि ड्युटीको चटारोलाई निरन्तरता दिनुलाई हेय र हेपाहा हिसाबले व्याख्या गर्नु उचित काम होइन । यसर्थ, कोरोना भाइरसको महामारीका सन्दर्भमा भएको लक डाउनमा खटिएका प्रहरीलाई हिजोको राजनीतिक आन्दोलनमा सरकारले प्रयोग गरेको लाठीचार्जको प्रतिशोधका विचारमा होइन, हाम्रा सुरक्षाका निम्ति हाम्रै समाज र देशलाई निरोगी बनाउनका निम्ति खटिएका हुन् भन्ने दृष्टिकोणले हेरौं । त्यसैले आफू भलो बनौं । दुनियाँ भलो देखिनेछ । अझ यो कोभिड १९ को महामारीमा त सहकार्य गरौं ।

प्रतिक्रिया
सम्बन्धित