शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सेनाले किन लियो कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री खरिदको जिम्मा ?

दैनिक नेपाल २०७६ चैत २३ गते १६:५१

काठमाडौं, २३ चैत । एउटा नीजि कम्पनीले पाएको कोरोना भाइरस विरुद्धका स्वास्थ्य सामग्री खरिद प्रकरण विवादीत भएपछि त्यसको ठेक्का नेपाली सेनाले पाएको छ ।

त्यसमा कुनै शर्त नै नराखी तुरुन्तै ठेक्का स्वीकार गरेपछि सेनाका विषयमा पनि अनेक चर्चा भइरहेको छ । विकास निर्माणका ठूला काममा नै सेना विवादमा परिरहेका बेला सार्वजनिक खरिदका विषयको जिम्मा समेत सेनाको काँधमा आइपुगेको हो ।

नेपाली सेना मुलुक अति संकटको अवस्थामा पुगेका बेला मात्रै यस्ता खरिदलगायतका विषयमा सक्रिय हुनुपर्ने भए पनि त्यस्तो अवस्था नआउँदै धक नमानी ठेक्का स्वीकार गर्ने काम ठिक नभएको कतिपयले बताएका छन् ।

ओम्नी इन्टरनेशनलले पाएको खरिदको ठेक्का स्वास्थ्य सेवा विभागले रद्द गरेको थियो । नेपाली सेनाले भने यो कुनै विवादीत कुरा नभएको जनाउँदै सरकारले दिएको जिम्मेवारी बहन गरेको जनाएको छ ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले सरकारले दिएको जिम्मेवारी सेनाले बहन गर्ने र त्यसमा कुनै राजनीतिक टिप्पणीप्रति जानकारी नहुने बताएका विवरण सार्वजनिक भएका छन् ।

द्रुतमार्गसहितका विविध परियोजनामा भ्रष्टाचार भएको भन्दै सेना विवादमा तानिएको थियो । सोही विषय तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धिकरण विभागलाई अनुसन्धानका लागि संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको थियो ।

कतिपयले भने खरिद ठेक्कासँगै सेनाले जग्गा प्लटिगंदेखिका अनेक काममा पनि विवाद रहेका कारणले सार्वजनिक खरिदका काम नागरिक तहका सम्बन्धित निकायले गर्न सक्ने अवस्थामाथि सरकारले धावा बोलेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित