शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मेयरलाई गाजा तस्करीको अभियोग, पक्राउ पुर्जी जारी

दैनिक नेपाल २०७६ चैत १९ गते ८:४७

रुपेन्द्र पटेल

रौतहट, १९ चैत । प्रतिबन्धित लागूऔषध गाजा तस्करीको आरोपमा रौतहटको एक नगरपालिकाको प्रमुखलाई पक्राउ पुर्जी जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको हो ।

उनीसंगै उनको भाई नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई समेत पक्राउ पुर्जी जारी भएको छ । मेयर मेहताका भाई नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पनि पक्राउ गर्न पक्राउ पुर्जी आएको छ ।

गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर मेहता र नेकपा अध्यक्ष मेहता दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पूर्जी पठाएको छ ।

घटना गत माघ ११ को हो । सो दिन हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा रहेको प्रहरीको टोलीले एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपैयाँ समेत बरामद भएको थियो ।

रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छवटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थिए ।

एम्बुलेन्समा चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ ।

अदालतमा विनोद सहनीले दिएको बयानको आधारमा अदालतले रौतहटको ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पुर्जी पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएको बताउँदै खोजबिन भइरहेको जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर मेहताको पद धरापमा परेको छ । मेयर मेहता र भाइलाई पक्राउ पुर्जी जारी भएपछि ईशनाथ नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया
सम्बन्धित