शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रहरीलाई मात्र पेलेर कसरी जितिन्छ कोरोना भाइरसविरुद्धको महायुद्ध ?

विनोद ढकाल २०७६ चैत १७ गते ९:०७

-विनोद ढकाल

इटालीकी एक युवतीका आँखामा देखिएको भावुक परिदृश्यलाई मात्र बुझ्ने हो भने नेपालीले ०७२ सालमा भोगेको महाभूकम्पको त्यो कारुणिक क्षण विर्सनेछन् । विश्व महामारीका रुपमा तिव्रताका साथ, सेकेन्ड सेकेन्डमा मानिसको मृत्युदर बढाइरहेको कोरोना भाइरसको भयंकर आक्रमणका अगाडि परिवार, समाज र देश देखेकी ति युवती भन्छिन्, कोरोना भाइरस मजाक होइन, हे भगवान यो महामारीबाट परिवार, समाज र पुरै मानव सभ्यतालाई बचाऊ ।

दिनदैन्य, नेपालभित्र कोरोना भाइरसको संक्रमण बढ्दो छ । ५ जनामा स्पष्ट देखिएको छ । कतिपयमा लागेको भन्ने आशंका गरिएको छ । कतिपय खुलेका छैनन् । जे जति परिणामका विषय सतहमा आएका छन् मानिसहरु भन्छन्, नेपालमा संक्रमण हुँदैन । तर हर समय पशुपतिनाथले जोगाउनेवाला छैनन् । पशुपतिनाथमाथि विश्वास कायम राख्ने हो तर त्यो विश्वासलाई अन्धो बनेर सावधानी नअपनाउने भनिएको होइन । अर्थात् अन्धविश्वासमा विश्वमहामारीविरुद्धको युद्ध जित्न सकिँदैन, हेक्का होस् ।

आधा विश्व मानिएको अमेरिका, युरोपका विभिन्न मुलुक ध्वस्त हुने अवस्थामा पुगिसकेको विवरण आउको र छिमेकी भारतमा पनि एक हजार बढी मानिसमा संक्रमित भएको तथ्य अगाडि आएपछि नेपाल सरकारले बल्ल कोरोना भाइरसको संक्रमण हो कि होइन भन्ने पत्ता लगाउने मेसिन चीनबाट ल्याएको छ । सम्बन्धित प्रदेशमा पठाइसकेको अवस्था छैन । आइतबारको उच्चस्तरीय समितिको बैठकको निर्णय सुनाउँदै गर्दा आएको तथ्य त्यहि हो ।

यसबीचमा यो जोखिमबाट बँच्नका लागि नेपाल सरकारले लक डाउन घोषणा गरेको थियो, जसलाई कुनै सरकारी संयन्त्रले होइन, प्रहरीले मात्रै कायम गराउने हिम्मत देखायो, त्यसका लागि नेपाल प्रहरीप्रति आभार छ ।

कोरोना भाइरस संक्रमण जोखिमविरुद्धको युद्धमा राज्य लागेको देखिन्छ  । लक डाउन गरी नागरिकलाई सुरक्षित रहन, घरबाट ननिस्कनका लागि सरकारले आग्रह गरेको छ, सिंहदरबार र बालुवाटारबाट । आइतबारको मन्त्रिपरिषदको निर्णयले फेरि २५ चैत राती १२ बजेसम्मका लागि लक डाउन जारी राख्ने निर्णय गरेको छ ।

पहिलो एक साताका लागि घोषणा गरिएको लक डाउन नागरिककै स्वास्थ्यका लागि र मानवीय क्षति हुनबाट जोगिनका लागि गरिएको भन्ने प्रायः आम नागरिकमा सूचना पुगेको छ, प्रत्यक्ष र परोक्ष प्रारुपमा । यो एक साताको लक डाउनमा समाचार र विवरणमा विविध परिदृश्य आए । कतै प्रहरीले माइकिंग गरी, रेकी गरी, सम्झाउँदै बुझाउँदे नागरिकलाई घरभित्र बसिदिन आग्रह गरे भने कतै लाठी प्रहारसम्मका भिडियो बाहिरिए ।

प्रहरीका कुन युनिटका काम कस्ता छन्, कसले कसरी काम गरेको छ भन्ने विषय यतिबेला गौण हुन्छ । जसरी संगठनका प्रत्येक कर्तव्यपालक प्रहरी कर्मचारी मुलुकका नागरिकलाई निरोगी हुनका लागि घरमा बसिदिनुहोस् भन्दै माइक लगाउने, सम्झाउने र यति गर्दा पनि नमाने लाठी समेत हान्न तम्सिनुपरेको छ । यो, ठाउँ र व्यवाहारअनुसारका प्रतिक्रियाका रुपमा नै देखिएको छ ।

यसमा विविध टिकाटिप्पणी हुनु स्वभाविक हुन सक्ला तर कतिपय तथ्य अगाडि सार्ने हो भने प्रहरीलाई नै राज्यले यति धेरे पेलेको छ कि यसको निदान र नियन्त्रणका लागि सक्रिय हुनुपर्ने अन्य निकाय जिम्मेवार बन्न सकेका छैनन् ।

राज्यसंयन्त्रको प्रमुख मध्येको एउटा निकाय भएका कारण प्रहरीका जिम्मेवारी यस्तै अप्ठेरो समस्यामा हुन् । तर यति धेरै पेलिनुपर्ने गरी पनि हैन की उसको जिम्मा अस्पतालदेखि उपचारसम्मको आइपरोस् । यसमा प्रहरीले ल्याएका, खोजी गरी सम्बन्धित निकायको सम्पर्कमा पुराएका अनेक निकायले मिहिनताका साथ काम नगरोस् । मानवीयताका साथ जिम्मा नलियोस्

फ्रान्सबाट नेपाल आएकी युवतीको विषय १२५ जनासँग जोडियो, जसको खोजीको जिम्मेवारी प्रहरीलाई दिइयो । शंकास्पद लागेका कतिपयलाई अस्पतालदेखि क्वारेन्टाइनसम्म पठाउने जिम्मा पनि प्रहरीलाई दिइयो । प्रहरीले बलबुता लगाएर राज्यले दिएको निर्देशनअनुसार काम गरेको थियो । गरिरहेको पनि छ । तर त्यसमा जस पाउन सकेको छैन । शंकास्पद लागेका कतिपयको खोजी गरी नजिकका सरकारी होस् वा नीजि अस्पतालमा प्रहरीले सम्बन्धित व्यक्ति पठाउँछ तर ति निकायले फिर्ता पठाउँछन् । प्रहरीले कहाँ लगेर राख्ने ? कसरी जिम्मा लगाउने ?

यो एउटा उदाहरण मात्र हो । प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा अन्य निकाय जिम्मेवार बन्नुपर्छ या पर्दैन ? बन्नका लागि सरकारले दबाब दिनु पर्छ या पर्दैन भन्ने सवाल आम जनमानस र जिम्मेवार व्यक्तिले गर्नुपर्दैन ?

हो, राज्यसंयन्त्रको प्रमुख मध्येको एउटा निकाय भएका कारण प्रहरीका जिम्मेवारी यस्तै अप्ठेरो समस्यामा हुन् । तर यति धेरै पेलिनुपर्ने गरी पनि हैन की उसको जिम्मा अस्पतालदेखि उपचारसम्मको आइपरोस् । यसमा प्रहरीले ल्याएका, खोजी गरी सम्बन्धित निकायको सम्पर्कमा पुराएका अनेक निकायले मिहिनताका साथ काम नगरोस् । मानवीयताका साथ जिम्मा नलियोस् ।

चेन अफ कमान्डमा चल्ने संस्था र शैली भएका कारण प्रहरीले पहिलो चरणमा आदेश मात्र मान्छ भन्ने बुझ्न आवश्यक छ । उसले स्थानीय, प्रदेश वा संघीय सरकारले दिएको आदेशका आधारमा नै नागरिकमाथि चेतनाको होस् वा लाठीको जवाफ बोल्नुपरेको हो । तर यसमा प्रहरीको आलोचना तिव्रताका साथ हुनु दुखद छ । आम नागरिकको व्यक्तिगत स्वास्थ्य स्वार्थका लागि राज्यको निर्देशनमा सडकमा उत्रिएका प्रहरीको विदा छैन, यस अवधिमा । उनीहरु पनि परिवारका सदस्यको चिन्तामा डबेका छन्, भित्रबाट । त्यो भावनाको भवसागर मनमा राखेर प्रत्येक नेपालीको स्वस्थ्य जीवनका लागि खटिएका प्रहरीले भनेको नमानी, अटेर गरी हिँड्ने र राज्यले दिएको आदेशलाई पालना गर्दा उसैको आलोचना गर्ने आम नागरिकको मानसिकतालाई के उपमा दिने होला ?

यो कुनै राजनीतिक प्रतिबन्ध, प्रजातान्त्रिक अधिकार खोसिएको विषयमा प्रहरीले नागरिकलाई रोकेको होइन । यो त प्रहरीको रेकी मात्र हो, गल्ती र भूलबस कुनै नागरिक बाहिर निस्किएर कोरोनाको संक्रमण र त्यसको जोखिममा परोस्, उसका कारणले अन्यलाई समस्यामा पारोस् । खासमा यो विषय राजनीतिक हिसाबले अधिकार माग्ने चेत भएका, प्रहरीलाई गाली गर्ने मगज भुटिएकाको दिमागमा छिर्नुपर्ने हो । दुखका साथ भन्नुपर्छ राजनीतिक अर्धचेत भएको समाजमा हुर्किएका मानिसमा रोगबारे, विश्व नै तहसनहस बनाएको भाइरसले सानो गल्तीका कारण मुलुक नै सिध्याउँछ, परिवार र समाज नै ध्वस्त पार्छ भन्ने चेतका अगाडि दम्भ छ । त्यसलाई सचेतना गराई घरभित्र बसिदिनुस् न भन्ने प्रहरीमाथि नै जाई लाग्ने प्रवित्ति छ । यो चेतनाले मुलुक कहाँ पुग्ने होला ?

हुन त एउटा भनाई छ लाटो देशका गाँडो तन्नेरी भन्ने । कसैलाई होच्याउने नभई, यो यथार्थलाई चित्रणका लागि उल्लेख गरिएको हो । एक त पर्याप्त उपकरणसहित रोकथाम र नियन्त्रणका लागि कमजोर रहेको नेपाल देशमा कोरोना भाइरससम्बन्धी विविध जानकारीचाहिँ अनेक आम मानिसमा छन् । उनीहरुलाई यो भाइरस लाग्दैन भन्ने होइन, आफू सुरक्षित हुनुपर्ने बेला पूरा मुलुक सुनसान छ भने शक्ति र ताकतका आधारमा बाहिर निस्कनुपर्ने दम्भ छ । यो अति प्रजातान्त्रिक प्रयोगको उपज हुनसक्छ । इटाली पनि यहि शैलीको मुलुक भएका कारण आज १० औं हजार मानिसको ज्यान गइसकेको छ । धेरे होइन, नेपाल भन्दा दुई गुणा मात्र जनसंख्या भएको मुलुकमा सानो असावधानी र अटेरीपनले देखाएको विश्व नै कारुणिक हुने परिदृश्यको तथ्य यहि हो । प्रहरीले भनेको नटेर्दा, राज्यले गहनता नलिँदा आएको यो परिणामलाई मुल्यांकन गर्दा नेपालको अवस्थालाई अलिकति कल्पना मात्र गरौं त ? के नेपाल जोखिममा छैन ?

हामी महाजोखिममा छौं । सुरक्षा सावधानी अपनाउनुपर्ने अहिले बेला हो । सरकारी अस्पताल कम रहेको मुलुकमा नीजि अस्पताल धेरे छन् । राजनीतक पहुँच र स्वार्थका आधारमा मेडिकल कलेजको लाइसेन्स लिनका लागि शक्ति समूहसँग साँगठाँग गर्ने, सम्बन्ध स्थापित गर्नेको अहिले उत्तरदायित्व र जिम्मेवारी आउँदैन ? भारतमा रहेका उद्योगपतिहरुले यस महामारिविरुद्ध लड्नका लागि सरकारलाई अर्बका अर्ब सहयोग, नीजि अस्पतालमा सेवा निर्वाध गरिनेसम्मका काम भएका छन् । तर नेपालका नीजि अस्पताल बन्द छन् । ज्वरो आउको विरामी लिँदैनन् ? यो कुन प्रणाली र पद्दती अनि ताकतको नमूना हो ? यी र यस्ता अनेक उदाहरण छन् ।

लक डाउन घोषणा भएयता जिम्मेवार निकायका कोही पनि उत्तरदायी भएको देखिँदैन, प्रहरीबाहेक । तीन जना नागरिक बराबर एक जना प्रहरी हुनुपर्ने विश्व मापदण्ड छ । तर ७५ हजार दरबन्दी रहेको प्रहरीमा अपुग रहेको जनशक्ति परिचालन गरी महामारीविरुद्ध नेपाल प्रहरी खरो उत्रिएको छ । प्राविधिक टोली होस् वा जनपद र सशस्त्र सबै मुलुकका नागरिकको सुरक्षाका लागि मात्र होइन, जनचेतना राहत वितरणलगायतमा पनि सक्रिय छन् । तैपनि प्रहरीकै आलोचना, उनैलाई पेल्ने काम मात्र भएको छ । राज्यले बुझ्नुपर्छ प्रहरी जस्तै अन्य निकाय पनि यतिबेला सक्रिय हुने बेला हो । नागरिक संयमित बनाउने, अस्पतालहरु नीजि वा सरकारी उत्तरदायी बनाउने, राज्यका अनेक संरचनालाई कोरोनाविरुद्ध सेचत हुँदै नागरिक सेवामा उतार्ने बेला हो नकी एउटा निकायलाई मात्र पेल्ने ।

प्रतिक्रिया
सम्बन्धित